समाज

उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । 

 

वाग्मती सफाइ महाअभियानको २५२औँ हप्तामा आज वाग्मती नदीको संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दाबढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । 

 

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३० संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालीम लिइरहेका १०० जना प्रशिक्षार्थीको समेत सक्रियता थियो । 

 

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । 

 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१३औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । 

 

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए । 

 

रुद्रमती सफाइको २०७औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजले काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित सांसद गगनकुमार थापा र प्रदेशसभा (क) बाट निर्वाचित सदस्य नरोत्तम वैद्यलाई स्वागत एवं सम्मान गर्याे । 

 

सो अवसरमा उनीहरुले सम्भव भएसम्म प्रत्येक हप्ताको सफाइ अभियानमा सहभागिता जनाउने प्रतिबद्धता जनाए । अभियानले केही हप्ताअघि कालोपुलमुनिबाट हटाइएको अव्यवस्थित तरकारी बजार भाडामा लिइएको स्थानमा व्यवस्थित गरिएको छ । सांसद थापा र प्रदेशसभा सदस्य वैद्यले तरकारी किनेर संयुक्तरुपमा बजारको उद्घाटन गरे । 

 

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५७औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताए । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४८औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

 

सफाइमा उपत्यका बाहिरबाट पढ्न आएका विद्यार्थी सहभागी हुँदा पनि स्थानीयवासी भने घरबाट ननिस्किएको सफाइ संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिए । चक्रपथ सफाइको ४८औँ हप्तामा चक्रपथ क्षेत्रको दायाँबायाँ सडक किनारमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । 

 

सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामे रेलिङ भत्काइयो । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउने निर्णय गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । 

 

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । आज अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष बस्नेत नेतृत्वको समूहले सफाइ अभियानको निरीक्षणसमेत गरेको थियो । 

 

चक्रपथको बाफल खण्ड सफाइको ३०औँ हप्तामा स्वयम्भू ठूलो भ¥याङबाट कारखाना चोकसम्म सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए । 

 

आजको सफाइ डिपार्टमेन्टल स्टोरअघि केन्द्रित भएको उहाँले बताउनुभयो । घरअघि फोहर फाल्नेको तस्वीर खिचिएकाले आगामी हप्ता सफाइकाक्रममै त्यसलाई सार्वजनिक गरिने अभियानले जनाएको छ । 

waste management

विशेष