महिला दिवसकै दिन किशाेरीमाथि निर्घात कुटपिट
अन्तराष्ट्रिय महिला दिवसकै दिन बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीमाथि निर्घात कुटपिट भएको छ ।
उहाँलाई गाउँकै गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ ।
गुरुबाले कुटपिट गरेपछि राधाका आफन्त र केहि स्थानीयबासिन्दाले प्रहरी चौकी सुख्खडमा उजुरी गर्न गएको भए पनि प्रहरीले उजुरी नै गर्न मानेन । प्रहरीले उजुरी गर्न नमानेपछि घोडाघोडी नगरपालिका ५ का वडाध्यक्ष राम रोकायले आएर मिलापत्र गराउने भन्दै सबैलाई चौकीबाट लिएर गएका थिए । र राधालाई घोडाघोडीको अस्पतालमा भर्ना गरिएको थियो ।
तर आज किशोरीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि स्थानीय मानवअधिकारकर्मीहरुको टोली घोडाघोडीमा पुगेको थियो । मानवअधिकारकर्मीले दवाव दिएपछि प्रहरीले गुरुबालाई पक्रेको छ । उनलाई अहिले जिल्ला प्रहरी कैलालीमा ल्याइएको छ ।
घाइते किशोरीलाई पनि उपचारका लागि घोडाघोडीबाट सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कुटपिटमा संलग्न गुरुबा पक्राउ परे पनि किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन ।