समाज

सिन्धुलीमा हात्ती अातंक, ६ वटा घर भत्कायाे

सिन्धुलीमा हात्ती अातंक, ६ वटा घर भत्कायाे

जंगली हात्तीको समूहले सिन्धुलीको कमलामाई नगरपालिका–८, हात्तिसारमा छ वटा घर भत्काएको छ । 

 

सदरमुकाम सिन्धुलीमाढीको राजपानी जंगलबाट ग्वाङखोला हुँदै फर्किएका पाँच वटा जंगली हात्तीको समूहले शुक्रबार राति ९ बजेतिर हात्तिसारमा पुगेर घर भत्काउनुका साथै अन्नपात समेत नष्ट गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार शुक्रबार बिहानीपख सदरमुकाम सिन्धुलीमाढीस्थित धुरा बजार पुल नजिकै खोलामा एकै साथ देखापरेको हात्तीको समूह लब्दाह खोला हुँदै राजपानी जंगलमा पुगेर दिनभरि बसेका थिए ।

 

ती हात्ति फर्किने क्रममा हात्तिसारमा पुगेर प्रेमबहादुर श्रेष्ठ, खड्गबहादुर अधिकारी, कृष्णमाया मगर, मुकुन्द श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, अर्जुन बिकको घरको बेरा भत्काई अन्नपात नष्ट पारेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

 

‘हात्ती धपाउन हम्मे–हम्मे परेको छ,’ उनले भने, ‘अहिले हात्ती भिमान वरिपरिको जंगलमा बसेको छ । सकेसम्म महोत्तरी पुर्याउन पाए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । हात्तीलाई नजिस्क्याउने र उ हिड्ने बाटोमा अवरोध सिर्जन नगर्नुको विकल्प पनि देखिदैन ।’

 

हात्ती धपाउन अन्य उपाय नभएकाले आफू सुरक्षित बस्नुको बिकल्प पनि नरहेको उनको भनाई छ । हात्तीसँग सुरक्षाकर्मी, वनका कर्मचारी लगायतको टोली पछि लागेर हात्तिको निगरानी गरिरहेको साथै माइकिङ र साइरन बजाएर सर्बसाधारणलाई सजग गराउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

विशेष