एकदिवसीय मान्यता पाउने सम्भावना जिवितै, प्लेअफमा पपुवा न्युगिनिसँग भिड्ने
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।
समूह 'बी' को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आशा बढेको छ । नेपाल समूहमा चौथो भएको छ । अफगानिस्तान रनरेटमा अघि रहदै तेस्रो भएर सुपर ६ पुगेको छ ।
हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो ।
खराब सुरुवात गरेको नेपालको जितमा रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटका लागि ८९ रनको साझेदारी गरे। रोहितले नटआउट ४८ रन बनाए भने सोमपाल कामीले नटआउट ३७ रन जोडे । रोहितले ८६ बलमा ६ चौका हाने । सोमपालले ४० बलमा ४ चौका प्रहार गरे ।
पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको नेपालले ६६ रन बनाउँदा ५ विकेट गुमााउँदा नेपाल दबाबमा आएको थियो ।
यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।
यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।
नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
समान अंक भए पनि नेपाल रनरेटकाे अाधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन । अब नेपालले प्लेअफका लागि पपुवा न्युगिनिसँग खेल्नेछ ।