हङकङबिरुद्धकाे खेल नेपालका लागि ठूलाे चुनाैती, के फराकिलाे अन्तरले जित्ला नेपालले ?
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दै छ ।
सिपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ । तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।
स्कटल्याण्डजस्तै समूह ए बाट यूएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।
सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।
दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने-सामने हुनेछन् ।
यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ ।
नेपाल र हङकङको हेड टु हेड इतिहासमा नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक आमने सामने भएकोमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङ हावी भएको छ । नेपाल र हङकङबीचको पछिल्लो खेल वर्षाका कारण रद्ध भएकाे थियाे ।