विश्वकप छनोटमा नेपाल र पिएनजी भिड्दै, दुवैको 'गर कि मर'काे अवस्था
काठमाडौं । अाज दिउँसाे आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ। जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।
एकदिवसीय मान्यताका लागि नेपालको ठूलो चुनौती ब्याटिङमा देखिएको छ। यो प्रतिस्पर्धामा बलिङमा औषत प्रदर्शन गरेको नेपालका प्रमुख ब्याट्सम्यान चल्नुपर्ने देखिन्छ। कप्तान पारस खड्का बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्न सकेका छैनन्। यद्यपी नेपालले हङकङलाई पराजित गर्दा रोहितकुमार पौडेलले नटआउट ४८ रन बनाएका थिए।
नेपालले पिएनजी विरुद्ध नयाँ मैदानमा प्रतिस्पर्धा गर्नेछ। मैदानको पहिलो इनिङको औसत स्कोर ३ सयको हाराहारीमा छ। त्यसैले जितका लागि ३ सय रन कटाउनेगरी खेल्नु जरुरी देखिन्छ।
पिएनजीले समूह चरणमा चारै खेल हारे पनि ब्याटिङमा भने राम्रो प्रदर्शन गरेको थियो। टोनी उराले आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए। युएई विरुद्धको पहिलो खेलमा १ सय १३ रनमा अलआउट भए पनि पिएनजीले आयरल्यान्ड विरुद्ध २ सय ३५ रन बनाएको थियो। पिएनजीले वेस्ट इन्डिज विरुद्ध पनि २ सय रन बनायो। नेदरल्यान्ड्स विरुद्धको अन्तिम खेलमा भने पिएनजी १ सय ५९ रनमा अलआउट भयो।