नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
काठमाडौं । एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले पपुवा न्युगिनीको पहिलो विकेट लिएको छ ।
जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा जारी खेलमा पिएनजीका ओपनर असद भाला १० रनमा आउट भएका छन् । उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारेका हुन्।
पिएनजीले ४ ओभरमा १४ रन बनाउँदा १ विकेट गुमाएको छ । खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।