छात्रवृत्तिका लागि दुर्गममा काम गर्न चिकित्सकहरूबीच तँछाडमछाड
काठमाडौं । कुनै समय यस्तो थियो कि, चिकित्सकहरू दुर्गम भेगमा गएर बिरामीहरूको सेवा गर्नुभन्दा जागिर छोड्न तयार हुन्थे। जसले गर्दा चिकित्सकहरू दुर्गममा भन्दा सुगममा धेरै बस्न रुचाउन्थे। तर, पछिल्लो समयम चिकित्कहरूले सेवाको लागि सुगमभन्दा दुर्गम भेगनै रोज्न थालेका छन्।
सरकारी छात्रावृत्तिमा एमबिबिएस अध्ययन गरिसकेका र लोक सेवामा नाम लेखाएका चिकित्सकहरूले अहिले सेवाको लागि सुगमभन्दा दुर्गम क्षेत्र रोज्न थालेपछि हाल स्वास्थ्य मन्त्रालयमा उनीहरूको दरबन्दी मिलाउनै कठिन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका चिकित्सा माहाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार हाल लोकसेवा पास गरेर आएका चिकित्सकहरूले सेवाको लागि दुर्गम नै रोज्दा दरबन्दी मिलाउन गाह्रो भएको बताए।
उनले भने, 'भर्खरै नाम निकालेर आएका चिकित्सकहरू धेरैले दुर्गम क्षेत्र नै रोजेका छन्। सबैले दुर्गम रोज्दा दरबन्दी मिलाउन गाह्रो भए पनि हामीले पहिलो नम्बर नाम निकाल्नेलाई पहिलो रोजाइ हुने गरी मेरिट बेसमा स्थान रोजाएर पठाएका छौँ।' मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले सबैले सेवाको लागि दुर्गमनै रोजेपछि रिक्तस्थानमध्ये पहिलो नम्बर नाम निकाल्नेलाई पहिलो रोजाइ हुने व्यस्था मिलाइएको बताए। लोकसेवा आयोगले १०२ जनाको नाम निकाले पनि सेवाकालीन तालिममा ९८ जना मात्रै सहभागी थिए ।
उनीहरूलाई मात्रै अहिले पठाइएको हो। सबैभन्दा जान नचाहने क्षेत्र २ नम्बर प्रदेश रहेको समेत उपसचिव खनाले बताए। तर, यसपटक ती क्षेत्रमा पनि डाक्टरहरु जान बाध्य भएको उनको भनाइ छ। किन दुर्गम रोज्छन् चिकित्स? सरकारी छात्रावृतिमा एमबिबिएस गरेका चिकित्सकहरूले अनिवार्य रूपमा दुई वर्ष दुर्गममा गएर सेवा नगरे विशेषज्ञ चिकित्सको पढाइ पढ्न नपाउने हुँदा चिकित्सकहरुको रोजाइ दुर्गम भएको डा. श्रेष्ठले बताए।
उनले भने, 'सरकारी छात्रावृत्तिमा एमबिबिएस गरेका चिकित्सकहरूले दुई वर्ष दुर्गममा गएर सेवा नगरे विशेषज्ञ चिकित्सकको पढाइ पर्न नपाउने भएकाले चिकित्सकहरूले दुर्गम रोज्न थालेका हुन्।' यसका साथै दुर्गममा सेवा गरेबापत सरकारी छात्रावृत्तिमा एमस, एमडी पढ्नको लागि छात्रावृत्ति पाउनको लागि नम्बर धेरै दिने व्यवस्था छ। जसअनुसार अति दुर्गममा दुई वर्ष सेवा गरेबापत १० नम्बर दुर्गममा सेवा गरेबापत ९ नम्बर र दुर्गम क्षेत्रका रूपमा चिनिएका अन्य केही जिल्लामा काम गरेबापत ७.५ र ६ नम्बर पाउने व्यवस्था छ।
यसका साथै दुर्गममा दुई वर्ष सेवा गर्नेलाई सरकारले २ वर्ष अध्ययन बिदासमेत दिने भएकाले दुर्गममा जान चिकित्सकहरू रुचाउने गरेको डा. श्रेष्ठले बताए। उने भने, 'जति धेरै दुर्गमा गएर दुई वर्ष सेवा गर्यो त्यतिनै सरकारी छात्रावृत्तिमा विशेषज्ञ चिकित्सकको पढाइ पढ्न पाइने हुँदा चिकित्सकहरूको पहिलो रोजाइ दुर्गम क्षेत्रमा हुने गरेको छ।' स्वास्थ्य मन्त्रालयले दुर्गममा दुई र अति दुर्गममा एक वर्ष सेवा नगरी एमडी, एमएस पढ्न नपाउने कुरा 'स्वास्थ्य सेवा ऐन'मा समावेस गरेको छ।