बीपीसँग विशाल सोच त थियो तर सिंगो नेपाल बुझ्नै पाएनन्
किरण बिक
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला सानैदेखि पढिँदै र सुनिँदै आएको नाम हो । राजनीतिमा त उनी धेरै नै सुनिए । पढिए पनि । उनी कम सुनिएका वा पढिएका होइनन् । बीपीलाई दुई स्रोतमा पढ्न सकिन्छ । एक, उनको आफ्नै किताबहरू र दोश्रो, उनीमाथि अर्काले लेखेका पुस्तक र पत्र पत्रिकाका लेखहरू । पत्रपत्रिकामा छापिएका लेखहरूमा त मैले बीपीमाथिका ३ सय बढीे लेख नै पढे हुँला ।
६–७ जनाबाहेक उनीमाथि लेखिएका अधिकांशका लेख लगभग उस्तै पाएँ । लगभग सबैेले बीपी अद्वितीय थिए, उनी बहुतै महान् थिए भनी लेखनीको सुरुवात गरे । किनभने बीपी मलाई ढोकासम्म लिन आउनुभयो, गेटसम्म छोड्न जानुभयो, फर्किने बेलामा मलाई भाडा सोध्नुभयो, बीपीलाई हाम्रो पहिलो भेट याद रै’छ, बीपीले खाना सोध्नुभयो, बीपीले मलाई चिठी लेख्नुभयो ।
यसरी बीपीलाई महान् देख्नेले बीपीको राजनीतिक साहित्यिक मूल्यांकन गरेका रहेछन् । यस लेखमा मेरो अहिलेसम्मको बीपीमाथिको अध्ययनका क्रममा निस्केको निस्कर्ष र मलाई लागेका केही कुरा लेख्दै छु ।
बीपी निकै कम समय मात्र नेतृत्वमा रहे । नयाँ पुस्ता जसले बीपीलाई बृहत् रूपमा पढेको र बुझेको छैन उसलाई बीपीको नेतृत्वमा ००७ सालको क्रान्ति भएको भन्ने छ । बिपीको नेतृत्वमा सात सालको क्रान्ति भएको थिएन तर उनको महत्वपूर्ण भूमिका भने थियो ।
बीपी औपचारिक रुपमा निकै कम समयमात्र नेतृत्वमा रहे । अनेक परिबन्दले गर्दा उनी कहिले प्रमुख नेता त कहिले छायामा परिरहे । मात्रिकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, सुवर्णशमसेर लगायतसँग उनले नेतृत्वको टकराव हुने गथ्र्यो । बीपी अत्यन्त शिक्षित थिए । बीपीले त्यस समयअघिका विश्व राजनीतिका ठुलठूला ऐतिहासिक घटना र पात्रहरूबारे पढेका थिए । र, उनमा आफू पनि त्यस्तै पात्रहरूको लहरमा उभिने रहर जागेको थियो भन्न सकिन्छ ।
सायद बीपीले लेनिनलाई पछ्याएका थिए भन्ने आधार उनमा र लेनिनमा भएको समानताले झल्काउँछ । त्यो समानता भनेको दुवै अध्ययनशील हुनु र दुवै कुशल संगठक हुनु हो । लेखापढी पनि गर्ने र संगठनमा पनि जमेका, मोर्चामा अगाडि पनि हुने । र दुवैजनालाई के थाहा थियो भने आफैंले लेखेन भने इतिहासमा सुरक्षित भइँदैन । इतिहासमा आफ्नो स्पेस बनाउने हो भने आफ्नोबारे लेखिनु नै पर्छ भन्ने बीपी जान्दथे ।
त्यसकारण पनि उनले धेरै लेखे । अनेकौं कथा लेखे, राजनीतिक दस्तावेज र अन्य धेरै लेख लेखे, भाषण पनि आफैले लेखे, र तिनलाई सक्दो सुरक्षित राखे । बीपी आफूले पढेका सुनेका ठूला ऐतिहासिक पात्रबाट प्रभावित थिए । उनलाई आफू पनि त्यस्तै पात्र बन्छु भन्ने विश्वास थियो । उनले मोहनदास करमचन्द गान्धीलाई महात्मा गान्धी हुनुअघि नै भेटेका थिए । कसरी मोहनदास हेर्दाहेर्दै महात्मा गान्धी भए, त्यो नजिकबाट देखेका थिए ।
उनले माओ पनि कसरी सामान्य किसानबाट क्रान्तिकारी हँुदै महान् चीनको नेतृत्वमा पुगे भन्ने देखेका थिए । यसरी बीपी जत्तिको शिक्षित, स्वप्नशील नेतालाई सिमाना जोडिएको देशमा आफ्नै समयमा ठूला नेता स्थापित हँुदा, त्यसै प्रकारको महत्वाकांक्षा पलाउनु स्वाभाविक हो । बीपीलाई इतिहासमा कसरी सुरक्षित भइन्छ भन्ने राम्ररी थाहा थियो । उदाहरणको लागि उनको पहिलो समावेशी सरकार र इजरायलसँग दौत्य सम्बन्धको स्थापनालाई लिन सकिन्छ ।
माओसँग भेटेर सगरमाथालाई यतै पारे । महान् नेतामा एउटा लुकेको गुण हुन्छ, त्यो के भने उसले आफूलाई इतिहासमा कसरी सुरक्षित हुने भन्ने प्राविधिक कुरा जानेको हुन्छ । बीपीलाई एउटा कुराले पिडा दिएको हुन सक्छ । चन्द्रशेखर र बीपी दुवै मिल्ने साथी थिए । उनीहरू दुवैजना राजनीतिबाट पीडित थिए ।
बीपी निर्वासनमा थिए भने चन्द्रशेखर इन्दिरा गान्धीको लखेटाइमा परेका थिए । तर, पछि बीपी नेपालमा जेल परे भने चन्द्रशेखर प्रधानमन्त्री बने । आफू जेल पर्दा आफ्नो साथी शक्तिशाली छिमेकी देशको प्रधानमन्त्री हँुदा एउटा स्वाभाविक अपेक्षा हुन्छ, जुन बीपीले पनि पक्कै गरेका थिए । तर, चन्द्रशेखरले त्यस्तो सहयोग गरेनन् । यो एकदम पेचिलो कुरा हो ।
एउटा प्रयास भने गरेका थिए । त्यसलाई राजाले टेरेनन । बीपीको राजनीति र उमेर दुवैलाई हेर्दा उनी कम उमेरमै प्रधानमन्त्री बनेका थिए । त्यसअघि नेपालमा राणाहरू अत्यन्त बूढो उमेरमा प्रधानमन्त्री हुने गर्थे भने भारतमै पनि बूढाहरू मात्र प्रधानमन्त्री भएका थिए । महेन्द्र पनि कम उमेरमै राजा बनेका थिए ।
पछिसम्म पनि बीपीलाई सत्तामा फर्किन्छु भन्ने लागेको हुन सक्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा उनको दिमागमा रहेको कतिपय योजना र सपना पूरा हुन पाएनन् । फेरि सत्तामा जाउँला र निकै राम्रो काम गरुँला भन्ने बीपीलाई लागेको हुनसक्छ । तर, त्यो हुन पाएन । यो एउटा अपूरो कुरा उनको मनमा रहिरह्यो । नेहरूले असहयोग गरेको भन्ने कुरा धेरै ठाउँमा खुलिसकेको छ ।
बीपी अंग्रेजविरुद्धको आन्दोलनमा निष्ठापूर्वक लागेका थिए । गान्धी, नेहरू र अन्य नेतालाई उनी भारत स्वतन्त्र हुनुअघि नै चिन्दथे । नेहरू प्रम भएपछि बीपीकोे जुन स्वाभाविक अपेक्षा थियो, त्यो पूरा भएन । खासमा नेहरू पनि शिक्षित महत्वाकांक्षी र दुरदर्शी नेता थिए । उनले बीपीलाई बुझेका थिए । नेहरूले बीपीमा आफूलाई देखेका थिए । अझ म त केसम्म भन्न सक्छु भने, जवाहरलाल नेहरू बीपी कोइरालाको व्यक्तित्वको ईष्र्या गर्थे ।
भारत भर्खर स्वतन्त्र भएर प्रजातन्त्र अभ्यास र पवद्र्धन गर्दै गरेको देशको शक्तिशाली प्रधानमन्त्री भएर विश्वप्रसिद्ध भएको बेलामा जुन क्रेडिट नेहरू बटुलिरहेका थिए, सायद छेउकै देशमा बीपी उदाउँदा त्यो क्रेडिट खोसिने डर थियो नेहरूमा । बीपी सफल भएका भए त्यसैबेला अन्तराष्ट्रिय रूपमा स्थापित हुन्थे र एसिया महादेशमा नेहरू र बीपीको इज्जत समान हैसियतमा स्थापित हुन्थ्यो ।
आफूमात्र जंगलको बाघ हुनको लागि नेहरूले बीपीलाई सहयोग गरेनन बरु असहयोग नै गरे । बीपीको एउटा कमजोरी के थियो भने उनले खासमा नेपाल बुझ्नै पाएनन् अथवा भनूँ असाध्यै कम बुझे ।
बीपी भारतमै हुर्के, बढे, भारतमै पढे, भारतमै राजनीति सिके, भारतमै उनले पहिलो आन्दोलनमा सहभागी भए । उनको लामो नेपाल बसाइ त जेल जीवनमा मात्र भयो । त्यसपछि फेरि निर्वासनमा रहे । समग्रमा उनले नेपालको भौगोलिक, सांस्कृतिक र आर्थिक स्थिति बुझ्नै पाएनन् । उनीसँग देश बनाउने विशाल सोच त थियो तर सिंगो नेपाल उनले बुझेका थिएनन् भन्ने मलाई लाग्छ ।
२ वर्ष जतिअघि सौरभले अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेका थिए– ‘बीपी बाँचेका भए पञ्चायत पनि बाचिरहेकै हुन्थ्यो’ । ०४६ सालको आन्दोलनमा संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसको सहभागिता थियो । पुष्पलालले धेरैअघि नै मिलेर जाऊँ भनेका थिए । तर, बीपीले मानेका थिएनन् । चीनमा माओले च्याङ्गकाइ सेकसँग मिलेर विस्तारै शक्ति आर्जन गरेर सेकलाई नै धपाएका थिए ।
कम्युनिस्टहरूसँग मिलेर जाँदा शक्ति आर्जन गर्छन् र प्रजातन्त्र नै खतरामा पर्न सक्छ भन्ने उनको बुझाइ थियो । अर्को कुरा, बीपीको नजरमा राजा अलि सानो दुश्मन शक्ति थिए, रसियाको जार जस्तो नभएर, चीनको च्याङ्गकाइ सेकजस्तो नभएर उनको नजरमा एउटा अपठित, संसार नबुझेको र भर्खरै खुला भएको संस्थालाई म एक्लै फाल्छु भन्ने घमण्ड वा विश्वास थियो ।
बीपीलाई यसकारण दूरदर्शी भन्न सकिन्न । बीपी आफूसँग सहमत हुनेलाई अत्यन्त सम्मान गर्ने, माया गर्ने गर्थे भने आफूसँग वैचारिक रूपमा असहमत हुनेप्रति एकदम असहिष्णु व्यवहार गर्थे । यसका धेरै उदाहरण हरिहर विरहीको ‘आगो निभेको छैन’ भन्ने किताबमा उल्लेख छ ।
यो एउटा बीपीको फरक पाटोबारे लेखिएको किताब हो । बीपी बिरामी हँुदै जाँदा उनमा एकदम पिडा बढेको हुन सक्छ । क्यान्सरजस्तो रोगका कारण उनमा अब बाँच्दिनँ भन्ने लागेको हुनसक्छ । जीवन सिद्धिँदै छ भन्ने एकातिर अनुभव हुनु र अर्काेतिर सारा चिज बदल्छु भनेर हिँडेको म, त्यत्रो महत्वाकांक्षा लिएर हिँडेको म, नाम ठूलो काम अधुरै छ भन्नेजस्ता कुराले उनमा धेरै पिडा रहेको थियो भन्न सकिन्छ ।
बीपीको मनमा जे भए पनि, उनी यो देशका अहिलेसम्मकै स्वप्नशील र असल नेता थिए । बीपी नै त्यस्तो नाम बनेको छ जुन नामलाई हरेक पुस्ता सम्मान गर्छ । वास्तवमै यो देशले गुमाएकामध्ये पहिलो कोही छ भने बीपी नै हुन् । बीपीलाई अहिलेको पुस्ताले पढ्न र बुझ्न जरुरी छ ।