जो राजा वीरेन्द्रकै पालामा सती गइन्
मीना घोरसाइने
राधा र हरिप्रसादको प्रेम समाजमै प्रेम गर्ने जोकोहीको लागि उदाहरणीय थियो । यिनीहरूको माया देखेर गाउँमा डाहा नगर्ने कोही थिएनन्, त्यसको अर्को कारण विवाहपछि गाउँमा पतिपत्नीबीच हुने असमझदारी पनि थियो । राधा र हरिप्रसादको ४ वर्षको छोरो राहुल थियो ।
गरिब परिवार भए पनि उनीहरूमा एकअर्काप्रति समझदारी थियो । जसले गर्दा कुनै अभाव महसुुस हुन पाएको थिएन । एकदिन हरिप्रसादले आफ्नी पत्नीलाई बोलाउँदै भने, ‘राधा म जंगल गएर स्याउला काटेर ल्याउँछु, खाना बनाएर राख है ।’
तर राधाले बिरामी पतिको यस्तो कुरा सुनेर आफैं स्याउला लिएर आउने बताउँदै हरिप्रसादलाई आराम गर्न भनिन् । तर, हरिप्रसादले पत्नीको कुरा मानेनन्, उनी स्याउला लिन जंगल गए ।
राधा छोरालाई खाना दिईवरि लाग्नेको प्रतीक्षामा बसिरहेकी थिइन्, तर साँझसम्म पनि हरिप्रसाद घर फर्किएनन् । घर नफर्किएपछि देवर र अन्य गाउँलेलाई उनले गुहारिन् र छोरालाई देउरानीको जिम्मा लगाएर उनी पनि सँगै गइन् ।
स्याउला काट्न जंगल गएका हरिप्रसाद मृत अवस्थामा भेटिए । उनको रूखबाट लडेर मृत्यु भएको रहेछ ।
अनायासै हरिप्रसादको लास देख्नेबित्तिकै राधा बेहोस भइन् । गाउँलेले उनको लास र राधालाई घरमा ल्याए । राधा ब्युझिँदा हरिप्रसादको लासको अन्तिम बिदाइको तयारी हुँदै थियो । तर, राधाले पतिवियोगमा श्रीमान्को लास छाड्न मानिनन् । गाउँलेहरूले उनलाई लासबाट छुट्याउन निकै जोड गरे ।
तर सकेनन् । राधाले पतिकै लाससँगै जलेर जान खोजेपछि स्थानीय सशंकित भए । राधाको जिद्दीले हरिप्रसादको अन्त्येष्टि नै रोकियो । गाउँमा पञ्चायत नै बस्यो । पञ्चायतले राधाको छोरा सानै भएका कारण सती लैजान नमिल्ने निर्णय ग¥यो । पञ्चायतको निर्णयलाई समेत अस्वीकार गरी उनी सती जान लागि ढिपी गरिरहिन् ।
राधाले लासको अन्तिम संस्कार गर्न नदिएको करिब एक हप्ता बितिसकेको थियो । घटनाले ठूलो रुप लिँदै गयो, फैलँदै गयो । घटनाबारे राजा वीरेन्द्रले पनि सुन्न भ्याए । राजा वीरेन्द्रले राधालाई राजधानी नै बोलाएर उनलाई सती नजान आग्रह गरे । तर, राधा र हरिप्रसादको प्रेमको सामु राजा वीरेन्द्र पनि भाव विह्वल भए । अन्ततः राजा वीरेन्द्रले उनलाई सम्झाउनै सकेनन् ।
दरबारले हरिप्रसादको मृत्यु भएको महिना दिनपछि मात्र राधालाई आफ्नो मर्जी गर्ने अनुमति दिएको थियो । अन्ततः राधाले आफ्नो छोरालाई देवरको काखमा राखेर सती गएकी थिइन् ।