खेल मुख्य समाचार

धोनीले नेपाललाई बधाई दिँदै भने- खेलाडीहरुको कडा मेहनत र इमान्दारको प्रतिफल हो

धोनीले नेपाललाई बधाई दिँदै भने- खेलाडीहरुको कडा मेहनत र इमान्दारको प्रतिफल हो

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकोमा नेपाली क्रिकेटलाई बधाई दिएका छन्।


भारतीय सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले नेपालले पाएको सफलतालाई ठूलो उपलब्धि भएको बताएका छन्।


‘यो नेपालको ठूलो उपलब्धि हो,’ उनले भने ‘एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताले नेपालमा क्रिकेट प्रवर्धन र रूपान्तरणमा थप टेवा पुग्नेछ।’


केहीवर्ष अघि आफू नेपाल गएको र नेपाली खेलाडीहरुले कडा मेहनत गरिरहेको आफ्नै आखाँले देखेको भन्दै उनले नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेलाडीहरुको कडा मेहनत र इमान्दार प्रयासको प्रतिफल भएको बताए।


उनले कमजोर टिमहरूले एक दिवसीय मान्यता पाउँदैमा एक दिवसीय क्रिकेटको स्तर नखस्कने दाबी गर्दै क्रिकेटको विश्वव्यापी लोकप्रियता बढाउन र क्रिकेटमा साना टिमको स्तर बढाउन बढी भन्दा बढी टोलीहरुबीच प्रतिस्पर्धा हुनुपर्ने बताए।


एशोसियट राष्ट्रहरुले एक दिवसीय मान्यता पाउन गरेको प्रयासलाई सह्राना गर्दै धोनीले ती टोलीहरुले आगामी दिनमा पनि निरन्तर राम्रो प्रदर्शन कायम राख्नुपर्ने बताए।


पछिल्लो समय अफगानिस्तानले विश्वका राम्रा भनिएका टोलीलाई कडा चुनौती दिएको भन्दै उनले कतिपय देशले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन नसक्दा एकदिवसीय मान्यता गुमाउनु परेको बताए।


जिम्बावेमा जारी एक दिवसीय विश्वकप छनोटमा बिहीबार पपुवा न्यूगिनीलाई हराउँदै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।


त्यसपछि नेपाललाई विश्वभरीबाट बधाईको ओइरो लागिरहेको छ।

विशेष