रेस्लिङ्मा भविष्य खोज्ने यी शाहसी नेपाली महिला
काठमाडौं । पछिल्लो समय चुलोचौकोमा मात्र सीमित रहने नेपाली महिला रेस्लिङमा पनि आफ्नो भविष्य बनाउन थालेका छन् । भगवती खड्का, अस्मिता सुनार, युनिका नेपाली लगायतका नेपाली महिलाहरु रेस्लिङबाट नै देशलाई चिनाउँदै आइरहेका छन् ।
उनीहरुले नेपालका विभिन्न क्षेत्र लगायत भारतमा समेत गएर आफ्नो क्षमता प्रस्तुत गर्ने गर्छन् । अन्य पेशाभन्दा रेस्लिङ जटिल मानिने गरिन्छ ।
मोडलिङका क्षेत्रमा परिचित नाम हो अस्मिता सुनार । उनले विभिन्न म्युजिक भिडियोमा समेत खेलेकी छिन् । तर उनी मोडलिङमा भन्दा पनि रेस्लिङमा आफ्नो भविष्य खोज्दै छिन् ।
अन्तर्राष्ट्रिय रुपमा रेस्लिङ खेल्नेहरु धेरै छन् । तर सुन्दरताको हिसाबमा पनि अस्मिता मोडलिङमा भन्दा रेस्लिङमा आफ्नो भविष्य देख्छिन् । उनको कल्कलाउँदो शरीर देखेर उनीमाथि विभिन्न प्रश्नहरु उठ्ने गर्छन् । तर आफ्नो सुन्दरता देखाएर करियरमा लाग्नुभन्दा आफ्नो बाहुबलमा नै करियर बनाउनु उपयुक्त मान्छिन् उनी ।
उनले नेपाली चलचित्रमा समेत डेब्यु गरिसकेकी छिन् ।
त्यस्तै रामेछापकी भगवती नेपाली चलचित्र र म्यूजिक भिडियोबाट नै उदाएकी हुन् । विभिन्न चलचित्रहरुमा खलनायिकाको भूमिका निभाएकी उनी रेस्लिङ महिलाले पनि खेल्न सक्छन् भन्ने कुरामा विश्वस्त थिइनन् । पछि हिमालयन टाइगरसँग तालिम लिइसकेपछि भने उनी रेस्लिङमा उदाउन थालिन् । उनी यसैमा आफ्नो भविष्य बनाउने सोचमा छिन् ।
नेपालमा पुरुषको भन्दा महिलाको रेस्लिङमा बढी क्रेज देखिन्छ । अस्मिता र भगवती नेपालका विभिन्न महोत्सव र मेलामा महिला रेस्लरका रुपमा देखा पर्ने गर्छन ।
नेपालमा रेस्लिङ्प्रतिको क्रेज भए पनि यसमा उचित पारिश्रमिक नभएका कारण अहिले रेस्लरहरु निराश भइरहेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा रेस्लिङको इतिहास लामो छ । तर नेपालमा भने भर्खरै मात्र सुरुवात भएको हो । सरकारले नै रेस्लिङमा लगानी नगर्नु अर्काे समस्याका रुपमा रहेको छ ।