जिब्बावे यात्रा सुखद : कप्तान पारस खड्का
भौतिक पूर्वाधार अरूकाे जस्ताे भइदिए ५० ओभरको विश्वकप सहज बन्छ
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाबे यात्रा टुंग्याएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो ।
‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने अझ समृद्ध हुन्छौं ।’
नेपाल क्रिकेट संघ निलम्बनमा छ । तर, क्रिकेट संघको विधान संशोधन गरेर निलम्बन फुकुवा गर्ने प्रयास जारी छ । आईसीसीको तालिकाअनुसार विधान संशोधन भए जुनमा हुने साधारणसभाले नेपालको निल्म्बन फुकुवा गर्नसक्छ ।
‘हामीले देशभित्र धेरै खेल खेलाउनुपर्छ र हाम्रो भौतिक पूर्वाधार बनाउनुपर्छ,’ कप्तान पारस भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा सुरुमा बोर्ड सक्रिय हुनुपर्छ । हामी अझै निलम्बनमा छौं । आशा छ कि जुनमा निलम्बन फुकुवा हुन्छ र क्रिकेट सञ्चालन गर्ने सक्षम बोर्ड बन्छ ।’
विश्वकप छनोटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सँग हार्दै आठौं भयो तर, कप्तान पारस यो साता नेपालले हात पारेको उपलब्धिप्रति खुसी छन् ।
यो उनको व्यक्तिगत र टिम दुवैको सपना थियो । पारसले भने, ‘एक दिन हामी टेस्ट नेसन बन्छौं । सायद यसका लागि ८-१० वर्ष लाग्ला । तर, अबको हाम्रो गोल ५० ओभरको विश्वकप हो ।’