समाज

२० वर्षअघि खाेलिएकाे बाटाेकाे स्तराेन्नति बल्ल सुरू

२० वर्षअघि खाेलिएकाे बाटाेकाे स्तराेन्नति बल्ल सुरू

म्याग्दी, बाबियाचौर । बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ । 



बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको वडा नं ४ का अध्यक्ष भीष्म मल्लले जानकारी दिए । 



चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताए । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उनले भने । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ ।

 

२०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हुँदै आएको थियो ।

 

सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताए । 



यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी सय मिटर सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हुँदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ ।

 

सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडासदस्य हरिबहादुर कार्कीले बताए । 



जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिए । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उनले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताए । 



८० प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करिब रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकाेमा नौ महिनाकाे अवधिमा पूँजीगततर्फ ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए ।

विशेष