प्लेनमा यात्रा गर्दा यस्ता ६ कुरामा सावधान रहनुस्
गत साता मात्रै काठमाडौंमा भयानक प्लेन दुर्घटना भयो । जसबाट ५० भन्दा बढी यात्रुले ज्यान गुमाए । सामान्यतः प्लेनको यात्रा सबै सवारीसाधनमध्ये सुरक्षित मानिन्छ ।
तर नराम्रो पक्ष के भने, पाइलटको सानो गल्तीले ठूलो दुर्घटना हुन्छ । प्लेनको यात्रा जति सुरक्षित हुन्छ, दुर्घटनामा यात्रु बाँच्नै सम्भावना त्यतिकै कम हुन्छ ।
यद्यपि कहिलेकाहीँ कुनै दुर्घटनामा भने यात्रुको ज्यान बाँच्न पनि सक्छ । विश्वमा केही त्यस्ता डरलाग्दा हवार्इ दुर्घटना भएका छन्, जहाँ दुर्लभ तरिकाले केही यात्रुको जीवन बाँचेको छ ।
हवार्इ यात्राबारे जानकारहरु भने प्लेन दुर्घटनाको क्रममा सावधानी अपनाउने हो भने केही यात्रुको जीवन बाच्न सक्ने सुझाव दिन्छन् । प्लेनमा यात्रा गर्नुअघि वा यात्राको क्रममा यात्रुहरू कस्ता कुरामा चनाखो हुनुपर्छ भनी विज्ञहरु सुझाव दिन्छन् ।
रक्सी सेवन नगर्नु : उनीहरूकाे सुझावमा रक्सी नखानु पहिलाे शर्त हाे । याे यात्राको क्रममा सबैभन्दा बढी जोखिमयुक्त हुन्छ । तर यात्राको क्रममा युवाहरु रक्सीले मस्त मात्ने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक त छ नै । यात्राको लागि पनि उचित छैन ।
दुर्घटना भइहाले हतारमा बाहिर निस्किन अन्य यात्रुलाई जति सहज हुन्छ रक्सीले मातेकाहरुका लागि जटिल हुन्छ । अधिकांश यात्रुमा रक्सी सेवनपछि निदाइरहने बानी पनि हुन्छ । त्यसैले जाेखिम झनै बढ्ने विज्ञहरु बताउँछन् ।
सीटबेल्ट बाँध्ने : प्लेनमा यात्रा गर्दा सिट बेल्ट बाँध्नु पनि उत्तिकै सुरक्षित हुन्छ । एयर होस्टेसहरुले पनि पटक पटक सिटबेल्ट बाँध्न सुझाव दिइरहेका हुन्छन् । प्लेन हल्लिँदा वा आपतकालीन अवतरणको क्रममा पनि यात्रुले सिटबेल्ट बाँध्नु अत्यावस्यक हुन्छ ।
एक्जिट डोरछेउ नबस्ने : प्रायः यात्रु एक्जिट डोर नजिकै बस्न रुचाउँछन् । तर, कहिलेकाहीँ त्यस्तो आफ्नै लागि असुरक्षित हुन सक्छ । दुर्घटना भइहाले एक्जिट डोर नजिकै बस्ने यात्रुले अरुलाई उद्धारको लागि सघाउनुपर्ने भएकाले पनि त्यस्तो अवस्था असुरक्षित मानिन्छ ।
आपतकालीन झोलाबारे ध्यान दिने : आपतकालीन झोला कहाँ छ, कस्तो अवस्थामा छ भनी ख्याल राखिरहनुपर्छ । आपतकालीन झोला कसैले सिटमुनि त कसैले सिटमाथि राखेका हुन्छन् । यात्रुले आपतकालीन अवस्था आयो भने उक्त झोला समात्न सक्ने ठाउँमा राख्नुपर्छ ।
ग्याजेटमा विचार पुर्याउने मोबाइल फोन, ल्यापटप, आइप्याडलगायत ग्याजेट यात्राको क्रममा स्विच अफ वा फ्लाइट मोडमा राख्नुपर्छ । यस्ता ग्याजेट अन गरिराख्दा हानिकारक र असुरक्षित हुने भन्दै यात्रुलाई सावधानी गरिएको हुन्छ । यात्रुले सधैँ यात्रा अवधिभर ग्याजेट अफ गरिराख्नु सुरक्षित हुन्छ ।
कपडा छनोट हवार्इ यात्रामा प्रायः कटनबाट निर्मित कपडा नलगाउनु नै उचित हुन्छ । अन्य कुनै पनि किसिमका कपडामा बन्देज छैन ।