समाज

किसानकाे दुखेसाे : उखु नगदे हाे कि उधाराे बाली

किसानकाे दुखेसाे : उखु नगदे हाे कि उधाराे बाली

महोत्तरी । महोत्तरी गौशाला नगरपालिका–१ रामनगरका किसान बेचु महतोले २ बिघा ‘खुटी’ र अढाइ बिघा ‘मुरहन’ उखु लगाएका छन्। उनले रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज उखु मिललाई स्थापना कालदेखि नै उखु बेच्दै आएका छन्।

 

उनले ‘खुटी’ र ‘मुरहन’ उखु भुक्तानीका लागि पर्खिरहेको महिनौं बित्यो तर, आशा झनै निराशामा परिणत भयो। हालसम्म जति लगानी गरिएको छ, सबै ऋण लिएर लगानी गरे तर समयमा भुक्तानी नहुँदा ब्याज दिनदिनै बढ्दैछ ।

 

तर, आफ्नै पैसा लिन अरुको बाटो ताक्नुपर्छ। पोहोर पनि उखु क्रिक्री गरेको ६ महिनापछि मात्र भुक्तानीको पैसा हातमा परेको थियो। पुरानो दर ५ सय ३१ रुपैयाँ २० पैसाका दरले हिसाब जोड्ने हो भन्ने करिब २० सय क्विन्टल उखुको मूल्य झण्डै साढे १३ लाख पाउनुपर्ने हो।

 

तर उनले पैसा कहिले पाउँछन् भन्ने कुनै ठेगान छैन। चिनीमिलले उखु खरिद गरेको २१ दिन भित्र भुक्तानी गर्ने सम्झौता प्रत्येक वर्ष गरे पनि त्यो सम्झौता कागजमै सीमिति हुदै आएको महतोको गुनासो छ। 

 

‘समयमा भुक्तानी पायो भने साहुबाट लिएको ऋण तिरेर दुई चार रुपैयाँ हुन्थ्यो, चित्त बुझ्थ्यो’, उखु कृषक महतो भन्छन, ‘एक त साहुको व्याजको टेन्सन, अर्कोतर्फ मिलले कहिले पैसा देला भन्ने चिन्ता ।’ ‘किसानले कम अथवा बेसी सरकारले समयमै मूल्य तोकिदेओस् भन्ने चाहन्छन्। मूल्य नतोकिँदा चिनी मिलले अल्झाएर किसानको पैसा होल्ड गरेर आफनो काम गर्छन,’ उनले भने।

 

यसमा उखु किसान संघर्ष समितिहरु पनि त्यतिकै जिम्मेवार छन्। उखु किसान संघर्ष समितिहरुले समयमै उखु किसानको समस्या समाधान नगर्दा समस्या हरेक वर्ष दोहोरिने गरेको सोही गाउँका अर्का किसान झुमुक रसाइली बताउँछन्।

 

रसाइलीले प्रायः पुसबाट चैतसम्म उखु मिलले उखु क्रसिङ गर्छ । तर उखुको मूल्य अन्तिमतिर मात्र तय हुन्छ, तर यस वर्ष त्यो पनि हुन सकेको छैन, जसले गर्दा किसानलाई मर्का पर्छ।

 

किसानले उखु खेतीबाट पाउने पर्ने पैसा समयमा पाउँदैनन। त्यो पैसाले चाहेको बेला आफनो काम गर्न सक्दैनन्, अनि भनाउने बेलाचाहिँ उखुलाई सरकारले नगदे बाली भनेर भन्दै आएको छ, हैन यो नगदे हो कि उधारो बाली! प्रदेश २ को ८ जिल्लाका उखु किसानको पीडा यस्तै छ।

 

चिनीमिल कम भएकोले उखु बेच्न र पैसा पाउन झन्झट रहेको किसान राजकिशोर सिंह दुःखेसो पोख्छन्। नगदेबालीको रुपमा महोत्तरी, धनुषा, सर्लाहीलगायत जिल्लामा गरिने उखु खेतीका किसान हरेक वर्ष यस्तै समस्या खेप्न बाध्य छन्।

 

उखु मिलले यसवर्ष पनि गत वर्षकै दर ५३१ रुपैयाँ २० पैसा प्रति क्विन्टलको दरमा उखु खरिद गरिरहेको छ। यस सम्बन्धमा भने एभरेष्ट सुगर एण्ड केमिकल एण्ड इण्डष्ट्रिज रामनगरका महाप्रबन्धक पवन झाले किसानले छिटै भुक्तानी पाउने बताए।

विशेष