अाँगन धनकुटामा, भान्साकाेठा पाँचथरमा
पाँचथरको मिक्लाजुङ र धनकुटाको चौबीस गाउँपालिकाको सीमावर्ती बजार ६ नम्बर बुधबारेमा एक घरको नक्सा दुई जिल्लामा पास गराउनुपर्ने बाध्यता परेकेा छ ।
खासगरी जग्गाधनी प्रमाण पूर्जा निकाल्दा र जग्गा दर्ता पास गराउँदा समस्या हुने घरधनीले बताएका छन् ।
बजारजारको बीच सडकदेखि उत्तरी क्षेत्रका करिब ३० घरको अवस्था यस्तो छ। सडकले छुट्याए पनि पाँचथरको मिक्लाजुङ गाउँपालिकाको ८ नम्बर वडातर्फ धनकुटाको चौबीस गाउँपालिकाको १ नम्बर वडा सडकदेखि करिव आठ मिटर दूरीसम्म पर्ने हुँदा यस्तो समस्या आएको हो।
बजार क्षेत्र भएकाले अधिकांश घरको अगाडिपट्टिको जमिन धनकुटातर्फ पर्छ भने भान्छाकोठा र शौचालय पाँचथरतर्फ परेको छ। एउटै घर दुई जिल्लामा परेपछि घर–जग्गासम्बन्धी प्रशासनिक कामकाजमा अनेकन झन्झट सीमावर्ती क्षेत्रका घरधनीहरूले बेहोर्दै आएका छन्।
भान्छाकोठा पाँचथर र मूलघर धनकुटातर्फ परेका चन्द्रकुमार श्रेष्ठले बजारको पूर्वी क्षेत्रका घरहरू दुई जिल्लामा पर्दा प्रशासनिक कामकाज गराउने क्रममा असहज हुने गरेको बताए।
यस्ता घरहरूलाई पाँचथर र धनकुटामध्ये कुनै एक जिल्लामा पार्दा घरधनीहरूलाई सहज हुने उनको भनाइ छ। ‘पहिले एक पटक नापी भयो तर विवाद भयो, त्यसपछि नापी नै भएन’, उनले भने, ‘नापी गरेर दुई जिल्लामा परेका घरहरू एक जिल्लामा पारिनुपर्छ, हामीलाई साह्रै झन्झट भयो।’