गाउँपालिकाकाे बजेट भ्रमणका नाममा दाेहन
विकास सिक्न भ्रमणमा निस्केकाे गाउँपालिका अध्यक्षकाे भनाइ
स्थानीय जनप्रतिनिधिहरु अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी भने मर्कामा परेका छन्। आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधिहरु अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने विकास निर्माणका काम प्रभावित भएका छन्। याे खबर कालिकाेटकाे हाे ।
स्थानीय तहमा हुने गाउँका विकास योजनाहरुको सम्झौता गर्नुपर्ने चटारो भएका बेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन्।
अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर भ्रमण गरेर खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाका प्रमुख उपप्रमुखसहितको जम्बो टाेली दैलेख, नेपालगन्ज पाल्पा लुम्बिनी र इलामको भ्रमणमा निस्किएका हुन्।
शुभ गाउँपालिकाको भ्रमण टोलीले उक्त भ्रमणबाट २० लाख रुपैयाँ रकम खर्च गर्ने स्थानीयले बताएका छन् । सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीयकाे अाराेप छ ।
विकासका काम सिक्न भ्रमणमा निस्केका हौँ : गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमणमा निस्केको बताए। ‘अन्य जिल्लामा विकासका काम कसरी भइरहेका छन्, त्यस विषय सिक्न भ्रमण निस्किएका हौँ,’ उनले भने, ‘बजेट विनियोजन कसरी र कुनकुन शीर्षकमा छुट्याइएको छ अन्य स्थानीय तहको अवलोकन गरी राम्रा कुराहरुलाई आफ्नो गाउँपालिकामा लागू गर्नका लागि अवलोकन अनुशरण भ्रमणमा लक्ष्य रहेको छ।’
त्यस्तै, खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन्। २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनीलगायत क्षेत्र भ्रमणका लागि खाँडाचक्र नरपालिकाको नगरसभाबाट पाँच लाख रुपैयाँ छुट्याइको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशी पंगेनीले बताए।