जथाभावी फाेहाेर फाल्ने ८४ जना कारबाहीमा
फाेहाेर फाल्नेमा संस्थाभन्दा व्यक्ति बढी
काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३ सय ५० असुल गरेको छ ।
कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहाेर फाल्ने ८४ जनाबाट कारबाहीस्वरुप रु दुई लाख ३७ हजार ३ सय ५० असुल गरिएको हो ।
विभागले जथाभावी फोहाेर फाल्नेबाट न्यूनतम रु ५ सयदेखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८ सय मेट्रिक टन फोहाेर व्यवस्थापन गर्दै आएको छ ।