समाज

प्रधानाध्यापकले लाखाैं हिनामिना गर्दा शिक्षकले तलब पाएनन्

प्रधानाध्यापकले लाखाैं हिनामिना गर्दा शिक्षकले तलब पाएनन्

गौशाला – १२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारका प्रधानाध्यापक राजकिशोर सिंहले मनोमानी ढंगले विद्यालयको रकम हिनामिना गरेको खुलासा भएको छ ।

 

विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा रहेको खाता नम्बर ४१५/०३ बाट विद्यालयका तत्कालीन प्रधानाध्यापक राजकिशोर सिंहले विभिन्न मितिमा २० लाख बराबरको आर्थिक कारोबार मनोमानी ढंगले खर्च गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनारसिंह साहले दिएको जानकारी अनुसार तत्कालीन प्रधानाध्यापक सिंहले फागुन महिनाको ९ गतेका दिन ९ लाख ९९ हजार, फागुन ९ गते ६ लाख रुपैयाँ निकालेका थिए ।

 

४ लाख ५८ हजार रकम शिक्षकलाई तलबबापत निकालिएको भनिएको थियो तर अहिलेसम्म कुनै पनि शिक्षक वा विद्यालयका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

 

विद्यालयका लेखापाल विजयकुमार महतोले त्यो रकम प्रधानाध्यापकले मनोमानी ढंगले खर्चिएको स्वीकार गरेका छन् । आफू पनि खाताधारी रहेको बताउँदै लेखापाल महतोले भने, ‘आवश्यक परेको खण्डमा यसभन्दा अगाडि पनि विभिन्न मितिमा विश्वासका आधारमा चेकमा सही गर्दै आएको थिएँ ।’

 

 

विद्यालयका प्रधानाध्यापकको लापरवाहीको कारण विद्यालयमा कार्यरत निजी स्रोत, प्राविधिकलगायत विद्यालयमा कार्यरत शिक्षकहरुले महिनौंदेखि तलब नपाएका शिक्षक महावीर सिंह कुशवाहाले जानकारी दिए ।

 

 

यस सम्बन्धमा विद्यालयका तत्कालीन प्रधानाध्यापक राजकिशोर सिंहले आफूसँग हरेक आर्थिक कारोबार हिसाबकिताब पारदर्शी रुपमै रहेको दावी गर्दै आउनुभएको छ ।

 

विद्यालय व्यवस्थापन समितिले तत्कालीन प्रधानाध्यापक सिंहलाई पदमुक्त गरि विद्यालयको पूर्ण जिम्मेवारी सोही विद्यालयमा राहतमा कार्यरत देवीप्रसाद घिमिरेलाई सुम्पिएको छ ।

 

राहत तहमा विद्यालयमा दरवन्दी रहेको शिक्षक राजकिशोर सिंहले गएको ४ बर्षदेखि विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएका थिए ।

विशेष