भारतले ‘दान दिएको’ गाडीभित्र बसेर जब नेपाली क्रिकेटरहरुले हात हल्लाए
मन्त्रीलाई सोध्न थालियोः राष्ट्रिय खेलाडीलाई किन भारतीय गाडी ?
काठमाडौं । विश्वकप छनोट खेलपछि जिम्बावेबाट स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न नवनियुक्त खेलकुद मन्त्री जगत विश्वकर्मा अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।
मन्त्री र अन्य खेलका समर्थकहरुले खेलाडीलाई खादा र माला लगाइदिँदै बधाइ दिए । नेपाली क्रिकेट खेल र केही खेलाडीहरुको उत्कृष्ट प्रदर्शनीको चौतर्फी प्रसंसा भइरहँदा यसरी स्वागत गरिनु स्वभाविक थियो ।
नयाँ मन्त्री विश्वकर्मा उत्साही हुँदै खेलाडीको स्वागत गरेर खेलाडीलाई एउटा बसमा सवार गर्दै ल्याए । खेलाडीहरु बसभित्रबाट हात हल्लाउँदै धेरैको बधाइको प्रतिक्रिया दिए ।
खेलकुद मन्त्री भने खेलाडी झैँ प्रसन्न मुद्रामा थिए । फोटो पत्रकारहरुले खेलाडीका भावभंगिमा कैद गरे । खेलकुद मन्त्रीले खेलाडी स्वागतको क्रममा लिएर गएको बसबारे भने चर्को टिप्पणी हुन थाल्यो ।
विद्यार्थी, पत्रकार तथा अन्य व्यक्तिहरुले उनले प्रयोग गरेको गाडीको विषयलाई लिएर विरोध जनाए । खासमा खेलकुद मन्त्रीले खेलाडी स्वागतमा प्रयोग गरेको उक्त बसमा लेखिएको थियो, ‘नेपाल भारत सहयोग’ ।
अर्थात् भारत सरकारले सहयोग गरेको बस किन प्रयोग गरियो ? भनी थुप्रै प्रश्न अहिले पनि मन्त्रीमाथि उठिरहेका छन् । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले त फेसबुकमै लेखेर सोधेका छन्:
‘हुतीहारा राष्ट्रवादको नयाँ संस्करण : हेर्नुस् साथीहरू, राष्ट्रवादी भनाउन रुचाउने ओली सरकारको चर्तीकला, देशको सान बढाएर फर्किएका क्रिकेटका हस्तीहरूलाई हिजो कसरी अपमानपूर्वक भारतीय गाडीमा बस्न विवश पारियो । खेलकुद मन्त्रीको यो कस्तो चाला हो ? के अब हामी कथित भारतीय सहयोगको गाडीबिना पाइला सार्न नसक्ने अवस्थामा पुगिसकेका हौँ त ?’
सोमबार पनि दिनभर भारतीय सरकारको दानको रुपमा आएको बस नेपाली खेलाडीको स्वागतमा प्रयोग गरिनु हुँदैनथ्यो भन्ने आशयका थुप्रै प्रश्न सामाजिक संजालभरी उठेका छन् ।
‘भारतले दान दिएको बसमै राख्नुपर्ने खेलाडीलाई ?’ एकजना सामाजिक अभियन्ताले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘कम्तिमा राष्ट्रिय खेलाडीको सम्मान त गर्न सक्नुपर्छ नी ।’