स्वास्थ्य

युवा अवस्थामै दाँत झर्ने समस्याबारे चिकित्सक यसाे भन्छन्

युवा अवस्थामै दाँत झर्ने समस्याबारे चिकित्सक यसाे भन्छन्

नेपालमा युवा अवस्थामै दाँत झर्ने रोग (पाइरिया)  बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेजले आयोजना गरेको कार्यक्रमा चिकित्सहरुकले सो कुरा बताएका हुन्।

 

दन्तरोग विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठले पछिल्लो समयमा खानपान र जीवनशैलीले युवा अवस्थामै मुखमा विभिन्न खालका समस्या लिएर चिकित्सककहाँ उपचारको लागि आउने संख्या बढ्दै गएको बताए।

 

उनले भने, '३५ देखि ४४ वर्षको उमेरमा पाइरियाको कारणले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सरजस्ता समस्याबाट युवाहरू पीडित बन्दै गएका छन्।'  

 

विविन्न कारणले मुखको सामान्यदेखि गम्भीर खालका रोग लाग्ने बिरामीको संख्या बढ्दै गए पनि आवश्यक चिकित्सक को संख्या कम रहेको समेत उनले बताए।

 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएअनुसार हाल नेपालमा २३ सय दन्त चिकित्सक रहे पनि ७० प्रतिशत चिकित्सकले मात्र बिरामीलाई सेवा दिइरहेको डा. श्रेष्ठले बताए।

 

कार्यक्रमा स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालले अवसरका लागि विदेश जाने चिकित्सकहरुलाई नेपालमै काम गर्ने वातावरण बनाउनुपर्ने बताइन्। यस्तै, अर्यालले करिब २३ सय को हाराहारीमा रहेका दन्त चिकित्सकहरु अधिकांश विदेश पलायन भएको भन्दै तिनीहरूलार्इ स्वदेश फर्काउने वातावरण आफूले तयार पार्ने आश्वासन दिइन्।

 

उनले भनिन्, ‘अहिले पनि हात खुट्टा भाँचियो वा चोट लाग्यो भने जति गम्भीर भइन्छ दाँतमा चोट लाग्दा वा मुखको स्वास्थ्य बिग्रँदा त्यति गम्भीर बनेको पाइँदैन त्यसलाई चिर्नका लागि पनि सरोकारवाला निकायसँग सहकार्य जरुरी छ।'

 

मुख स्वास्थ्यको महत्वबारे दन्त रोग विशेषज्ञ डा‍‍. अल्का गुप्ताका अनुसार हाम्रो शरीरको मुख्य गेट भनेकै मुख हो। त्यसैले हाम्रो शरीर स्वस्थ राख्नुमा मुखको महत्वपूर्ण  भूमिका हुन्छ। हामी खाने विभिन्न  प्रकारको जंक फुड (रिफाइन कार्बोहाइड्रेट) खानेकुराले हाम्रो शरीरलाई बिगारिरहेको छ।

 

यसका साथै दाँत राम्रो संग दाँत नमाझ्दा दाँतको समस्या आउने गर्छ। पछिल्लो समय हामीले जंक फुडले गर्दा युवा अवस्थामै दाँत, गिजामा समस्या आउने गरेको छ।

 

तत्काल गिजाबाट रगत आउने, गिजा सुनिनेजस्ता रोग लाग्ने गरे पनि लामो समय दाँतको समस्या आउनाले मुटुरोग लाग्ने, महिलाहरुमा समयअगावै बच्चा जन्मनेजस्ता समस्या देखिन्छन्।

 

त्यसैले वर्षमा एकपटक दाँत तथा मुखको परीक्षण गर्नुपर्छ। बिहान बेलुका दुईपटक दाँत माझ्ने गर्नुपर्छ। धेरै चिसो, धेरै तातो खानेकुरा खानु हुँदैन। यसका साथै जंक फुडसमेत कम खाने गर्नुपर्छ।

 

विशेष