एएफसी एसियन कपमा यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत यमनबिरुद्धको खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार यमनविरुद्धको अवे खेलको लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकिएको नेपालले आफ्नो अन्तिम खेलको रुपमा यमनसँग आगामी मंगलबार कतारमा खेल खेल्दैछ । नेपालले गत जेठमा भएको होम खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
मुख्य प्रशिक्षक ग्योतोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धरको टोलीले बिराज महर्जनको कप्तानीमा नेपाली टोलीको छनोट गरेको हो । यमनविरुद्धको खेलमा नियमित रहेका भरत खवास र बिक्रम लामा टोलीमा रहेका छैनन् ।
मिडफिल्डर बिक्रम घाइते रहेका कारण टोलीमा छैनन् भने फरवार्ड भरत दोहोरो पहेंलो कार्डको कारण टिममा अटाएनन् । त्यस्तै प्रशिक्षणमा रहेका मध्ये रविन श्रेष्ठ, विशाल श्रेष्ठ,कमल श्रेष्ठ र विमल बस्नेतले टोलीमा स्थान बनाउन सकेनन् ।
छनोटको समूह एफमा रहेको नेपालले समूह चरणका ५ खेलमध्ये २ बराबरी र ३ खेलमा पराजय बेहोर्दै २ अंक जोडेको छ । र, नेपाल समूहको पुछारमा रहेको छ । यो खेल नेपालको लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ ९एएफसी० ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।
यमनसँग खेल्ने नेपाली टोलीः
गोलरक्षकः बिकेश कुथु, किरणकुमार लिम्बु, एलेन न्यौपाने
डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डरः रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिशाल राई, सुनिल बल, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, ,जर्ज प्रिन्स कार्की