समाज

नमुना विद्ध्यालयमै छैन शाैचालयकाे व्यवस्था

छात्रछात्राहरू शाैच गर्न जंगल जान बाध्य

नमुना विद्ध्यालयमै छैन शाैचालयकाे व्यवस्था

सल्यान । सदरमुकाम खलंगामा रहेको एक नमूना विद्यालयका विद्यार्थीहरुले खुला रूपमा शौच गर्ने गरेको भेटिएको छ । खलंगा लुहापिङमा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा शौचालय नहुँदा नजिकैको झाडीमा जान बाध्य भएका हुन् । 

 

यस विद्यालयलाई केही समयअगाडि सरकारले जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा गरेको थियो । 

 

विद्यालयमा शौचालय पर्याप्त मात्रामा नहुदाँ आफूहरु शौच गर्न जगंल जानुपर्ने बाध्यता रहेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी नवीन थापाले बताए  । उनले भन, ‘हाम्रो विद्यालयमा शौचालय पर्याप्त मात्रामा छैनन्, शौच गर्न विद्यालय हाता बाहिर रहेको जगंलमा जानुपर्छ, कहिलेकाहीँ पेटमा समस्या भयो भने त २/३ घण्टीको पढाइ नै छुट्छ ।’

 

विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । 

 

विद्यालयका प्रधानाध्यापक माधव विक्रम जिसीले विद्यालयमा आवश्यक मात्रामा शौचालय नहुँदा यो समस्या आएको जानकारी दिए । उनले भने, ‘विद्यालयमा शौचालय नभएको होइन, शौचालय छ । एउटा शिक्षक स्टाफहरुले प्रयोग गर्नुहुन्छ, अर्को शौचालय छात्राहरुले प्रयोग गर्छन्, तर छात्रहरु भने जंगलमा नै गएर शौच गर्ने गरेका छन् ।’

 

प्रअ जिसीले विद्यालयमा आर्थिक अभावले शौचालय निर्माण गर्न नसकेको बताए । उनले जिल्ला शिक्षा कार्यालय, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायसँग सहयोग मागेको भए पनि अहिलेसम्म कहीँबाट पनि सहयोग प्राप्त नभएको जानकारी दिए ।

विशेष