यस्ताे पाे विकास : नगरपालिकाले छलाङ मार्ने संकेत
एकैसाथ २ सय ५५ सडक विस्तार
बेलकोटगढी नगरपालिकाले नगरक्षेत्र विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २ सय ५५ वटा सडक विस्तार गर्ने भएको छ । याे खबर नुवाकाेटकाे हाे ।
ग्रामीण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि रु आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २ सय ५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए ।
“नगरपालिका हुँदै कालोपत्रे भएका पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक सञ्चालनमा छन् ।” उनले भने, “नगरको केन्द्र तथा मानवबस्तीसम्म पुग्न कठिन भएकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न नसकिने भएको र जनताबाट समेत सबैभन्दा बढी सडककै माग भएकाले आवश्यकताको अधारमा सडक विस्तारलाई पहिलो प्राथमिकता दिइएको हो ।”
नगरपालिकामार्फत विस्तार एवं स्तरोन्नति गर्न लागिएको सडक चार खण्डमा विभाजन गरिएको छ । राज्य पुनःसंरचनाअन्तर्गत साविकका ६ गाविस समावेश गरी १३ वटा वडा मिलेर बनेको यो नगरपालिका प्राकृतिक श्रोत, जल, जमिन, जंगल, सांस्कृतिक सम्पदा एवं धार्मिकस्थलमा धनी मानिन्छ ।