समाज

खानेपानीका लागि बर्सेनि २ लाख बजेट : पानी भने थाेपाे झर्दैन

बजेटजति बालुवामा पानी

खानेपानीका लागि बर्सेनि २ लाख बजेट : पानी भने थाेपाे झर्दैन

गर्मी महिना र खडेरी माैसम शुरू भएसँगै अागलागी र खानेपानीकाे समस्या देशैभरि विकराल बन्दै गएकाे छ । एक गाग्री पानी लिन पनि घन्टाैं हिँड्नुपर्ने बाध्यताबाट अझै दुरदराजका बासिन्दा प्रताडित छन् ।

 

यस्तै समस्या बझाङवासीले वर्षाैंदेखि झेल्दै अाएका छन् । बझाङको मष्टा गाँउपालिका कोटदेवल रनाडाका स्थानीय वासीन्दाहरु खानेपानीका लागि राति २ बजे सम्म कुवामा बस्ने गरेका छन् । स्थानीय धाराबाट पानी नआउने भएपछि कुवाको पानी खानुपर्ने बाध्यता छ । कुवामा पानी निकै कम आउने भएपछि राति २/३ बजेसम्म पानीको कुवा कुरेर बस्नुपर्छ ।

 

यो समस्या यहाँका स्थानीयहरुको वर्षौँ देखिको हो । झन्डै एक सयभन्दा बढी परीवार रहेको कोटदेवलका स्थानीयले कुवाको पानी प्रयोग गर्दै आइरहेका छन् ।

 

खानेपानीको समस्या समाधानका लागि तत्कालीन कोटदेवल गाविसबाट र जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु बाट झन्डै २ करोड भन्दा बढी बजेट सकिएको भए पनि यो लगानी बालुवामा पानी जस्तै भएको स्थानीय कौसिल्लादेवी सिंहले बताए ।

 

उनका अनुसार खानेपानीका योजनाहरु तत्कालीन गाविस र वडामा पटक–पटक आए पनि दिगो नहुने बताए । नुहाउन, गाई, भैँसीलाई पानी खुवाउन १ घन्टा भन्दा टाढा रहेको पातल गाडमा जानुपर्ने सरस्वती माविका शिक्षक आनन्द कुमार सिंहले बताए । उनले विषेश गरी वृद्ध वद्धाका लागि र एकल महिलाका लागि पानीको निकै समस्या भएको बताए ।

 

कुवाको पानी आधा घण्टा कुरेको खण्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् ।

 

उक्त आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धाराबाट भने पानी नझरेको उनीहरुको भनाई छ । रनाडाका लागि मात्रै खानेपानी मर्मतका लागि बर्सेनि डिभीजन कार्यलयले–२ लाख रकम छुट्याइएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ ।

विशेष