विचार

टीकापुर हत्याकाण्डका पीडितले ‘चौधरीलाई नछुटाऊ’ भन्दै प्रधानमन्त्रीलाई लेखे चुडान्त चिठी

टीकापुर हत्याकाण्डका पीडितले ‘चौधरीलाई नछुटाऊ’ भन्दै प्रधानमन्त्रीलाई लेखे चुडान्त चिठी

काठमाडाैँ । कैलालीको टीकापुर हत्याकाण्डको अभियुक्त रेशम चौधरीलाई गृहमन्त्री रामबहादुर थापा बादलले जुस पिलाए र अनशन ताेडाएपछि घटनाका पीडितहरु थप पीडा महसुश गर्न थालेका छन् । 

 

पीडितहरू यतिबेला गृहमन्त्री र प्रधानमन्त्रीका गतिविधिप्रति रूष्ट भएका छन् । सकारकाे याे कदमप्रति रुष्ट हुँदै उक्त घटनामा मारिएका प्रहरी निरीक्षक बलराम विष्टका छाराछारीले प्रधानमन्त्रीलार्इ सुझावसहितकाे पत्र पठाएकाे छन् । 

 

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार, मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

प्रधानमन्त्रीज्यू,

सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । आज तपाईँ प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाइबहिनी तपाईँलाई एउटा घटना स्मरण गराउन चाहन्छौँ ।

 

तपाईंले पत्रपत्रिकाबाट पक्कै पनि खबर सुन्नुभएको हुनुपर्छ २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको हत्या भएको थियो । त्यही घटनामा एकजना डेढ वर्षे बालकले समेत ज्यान गुमाउनुपर्‍यो ।

 

हाम्रा बाबा प्रहरी निरीक्षक बलराम विष्टको पनि हत्या गरिएको थियो सोही घटनामा । हामीलाई राजनीति र यस्ता अरू कुराबारे केही थाहा थिएन पहिले । अहिले पनि त्यसबारे ज्यादातर चासो राख्दैनौँ ।

 

जब कर्तव्यपालनका सिलसिलामा आपराधिक समूहद्वारा प्रहरीको निर्मम हत्या गरियो, हाम्री आमाको सिन्दूर पुछियो र हामीलाई टुहुरा बनाइयो – हामी यति विह्वल भयौँ कि कैयौँ दिनसम्म हामीलाई केही थाहा भएन, के भइरहेको छ । भनौँ न, हामी अँध्यारो सुरुङभित्र पसेझैँ भयौँ । केही पनि देखेनौँ अगाडिको बाटो ।

 

निकैपछि मात्रै थाहा भयो– हाम्रा बुबालाई आन्दोलनकारीले हत्या गरेका रहेछन्, उहाँका सहकर्मीहरूसँगै । देश र जनताको सुरक्षामा खटिएका प्रहरीलाई जिउँदै जलाइयो भनेर सुनेपछि उत्पन्न मुटुको जलन अहिलेसम्म सेलाएको छैन ।

 

त्यतिबेला सरकार र सबै पक्षबाट धेरै सान्त्वना प्राप्त भयो । हामीलाई टुहुरा बनाउने अपराधीहरूलाई कारवाही हुने र उनीहरू जेल जाने भनिएपछि राहत मिलेको अनुभूत भएको थियो हामीलाई ।

 

त्यो अपराधमा संलग्नहरूको नामसमेत खुलेपछि र घटनामा संलग्न केही पक्राउ परेपछि हामीमा आशा अङ्कुरण भएकै हो– ढिलोचाँडो न्याय पाउँछौँ । पिताको आत्माले शान्ति पाउने भयो अब ! भन्ने ।

 

तर, हाम्रो आशा सत्य सावित कहाँ हुन्थ्यो र ! अभियुक्तहरूमध्ये धेरै जना पक्राउ नै परेनन् । त्यसपछि बनेका सबै प्रधानमन्त्रीले उनीहरूलाई कारवाही गरेर न्याय दिलाउने आश्वासन त बाँडे तर अदालतको कठघरामा उभ्याउनुको सट्टा कसैले भारतमा लुकेर बसेका मुख्य अभियुक्तलाई नै सार्वजनिक स्थलमै भेटेर हाम्रो घाउमा नुनचुक दले ।

 

हामीले समाचारमा सुनेका छौँ – हाम्रा पितालाइ मार्न मुख्य योजना बनाउनेमध्येको प्रमुख मान्छेले तपाईंले जस्तै भोट पाएर चुनाव जितेको छ रे ! त्यसरी घरघर भोट माग्न जाँदा पनि पुलिसले किन पक्राउ गरेन ? आज हामी योमात्र हैन धेरै प्रश्न गर्न चाहन्छौँ तपाईँलाई ।

 

अनि त्यसरी अभियुक्त मान्छेलाई बचाउन किन खोजिरहनुभएको छ ? उसलाई पनि सरकारको मन्त्री बनाउन खोज्नुभएको हो कि ? अपराधीलाई सांसद, मन्त्री बनाएर कस्तो सुशासनको वकालत गर्दै हुनुहुन्छ तपाईं ?

 

प्रधानमन्त्रीज्यू ! हामी हाम्रो पिता नभएको परिवारमा कसरी बसेका छौँ, यो तपाईं सोच्न पनि सक्नुहुन्न । तपाईं या अरू कसैले पनि हाम्रा दिवंगत पिता फिर्ता ल्याइदिन त सक्नुहुन्न तर हामीलाई टुहुरो बनाउने ती अपराधीहरूलाई सजाय दिएर हामीलाई न्याय दिन त सक्न सक्नुहुन्छ नि !

 

हामी पिता गुमाएको पीडा त कसरी भुल्न सक्थ्यौँ र तैपनि ती अपराधीहरूलाई सजाय भयो भने कम्तीमा न्याय मिलेको महसुस त हुने थियो । र, भोलि फेरि हामीजस्तै असहाय बालबालिकालाई कसैले टुहुरा बनाउने धृष्टता त गर्न सक्दैनथ्यो ।

 

राज्यले हत्या आरोपमा खोजी गरिरहेको मान्छेलाई राजनीतिको आवरणमा कसैले जोगाउन चाहन्छ भने भगवानले उसलाई कहिल्यै माफ गर्नेछैनन् । अझै पनि न्यायको आशा छ । त्यो नरसंहारको एकजना मुख्य अभियुक्त अझै पनि पुर्पक्षका लागि थुनामा छ रे । कुनै पनि बहानामा उसलाई उन्मुक्ति दिनु हामीलाई थप अन्याय गर्नु हो । यसरी पीडितको घाउमा नुनचुक लगाउनुले हामीले राज्यबाट के आशा गर्ने प्रधानमन्त्रीज्यू ?

 

सम्माननीय प्रधानमन्त्रीज्यू !

हाम्रा निर्दोष बुबाको छातीमा भाला र गोली प्रहार गर्ने, गर्न लगाउनेलाई कारवाही भएन भने पीडित परिवारमाथि घोर अन्याय हुनेछ । हामी न त आरामले सुत्न सक्नेछौँ न त मनमा शान्ति नै हुनेछ । न्याय पाइएन भने शायद टीकापुर घटनाको नियति दोहरिनेछ र हामीजस्तै अरूले पनि टुहुरो हुनु पर्नेछ ।

 

टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र कथित ‘अनशन’ टुटाउन गृहमन्त्रीले जुस पिलाउँदा हामी विष पिएसरह प्रताडित छौँ ।

 

हामी निराशमात्र हैन प्रधानमन्त्रीज्यू लज्जित पनि भएका छौँ । राज्यबाट हामी पीडितभन्दा बढी क्षतिपूर्ति पनि त्यही पीडकले पाएको छ भन्ने पनि सायद यहाँलाई अवगत नै छ होला । सान्त्वना, संरक्षण, राज्यको स्नेह पनि पीडकले पीडितभन्दा बढी पाएको छ ।

 

यही थिति बसाल्ने हो र यसैका लागि तपाईँको आफ्नो पनि आजन्म संघर्ष थियो भने हामी असहायको भन्नु केही छैन । अहिले पीडकका गोहीका आँसु र उसको राजनीतिको पाखण्डले तपाईं गल्नुहुन्छ भने तपाईँको अभिभावकत्वमा रहेका जनताले के अनभूति गर्ने ?

 

अपराधीहरूका हातबाट हाम्रा बुबा गुमाएको लामो समय भइसक्दा पनि चौबिसै घन्टा आँसुु बगाइरहेका छौँ, हामीले के आशा गर्ने ? हाम्रो आँसुको पनि मूल्य छ र निष्ठा नैतिकताको पनि स्थान हुन्छ भने तुरुन्तै टीकापुर घटनाको योजना बुन्ने र हाम्रा पिताको विभत्स हत्या गर्नेलाई आजन्म कारावासको सजाय होस् ।

 

प्रधानमन्त्रीज्यू, यो पत्र तपाईंसम्म त पुग्छ पुग्दैन । हामी राजनीति र समाचार जान्नेबुझ्ने उमेरअवस्थाका पनि छैनौ । यी शब्दहरू हाम्रा आँसु र आशा दुवै हुन् । जुन दिन हामी न्याय पाएको अनुभूति गर्नेछौँ सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञता व्यक्त गर्न यसरी नै धन्यवाद पत्र लेख्नेछौँ ।

स्वर्गीय पिताको स्मृतिमा न्यायको आशामा रहेका छोरीहरू वसन्ती विष्ट (२३ वर्ष), जयन्ती विष्ट (२१ वर्ष) र  शान्ति विष्ट (१४ वर्ष) तथा छोरा गोविन्द विष्ट (१७)

विशेष