मिस नेपालको विपक्षमाः महिलाको अनुहार बेच्ने कहिलेसम्म ?
मिस नेपाल, मिस मंगोल, मिस नेवाको नाममा महिला दमन
मीना घोरसाइने
विश्वमा महिलाको सुन्दरता प्रदर्शन गरेर पूँजीपतिहरु ब्यापार बढाउँछन् । अनेक ‘ट्यालेन्ट’प्रतियोगिताको नाममा हुँदैआएका कार्यक्रम के महिला सशक्तिकरणका सूचक हुन् त ? यो लामो बहसको विषय बन्दैआएको छ ।
नेपालले पनि ‘मिस नेपाल’ को नाममा युवतीहरुलाई र्याम्पमा हिँडाइन्छ । यसले महिलाको क्षमता मापन हुने ठूलो भ्रम छरिएको हुन्छ । यथार्थमा त्यो महिलालाई प्रयोग गर्ने तरिका मात्रै हो ।
मिस नेपालसँगै पछिल्लो समय ‘मिस मंगोल’, ‘मिस कलेज’, ‘मिस टुरिजम’ लगायत क्षेत्रगत र जातिगत रुपमा नै महिलाको प्रदर्शन गरिँदैआएको छ । यसले महिलालाई वस्तुको रुपमा चित्रित गर्छ ।
महिलालाई गर गृहस्थीमा सिमित राख्ने मानसिकताबाट ग्रसित पुरुष सत्तावादी सोचले यस्ता गतिविधिलाई निरन्तरता दिँदैआएको हो ।
पहिले राजाहरुले थुप्रै रानी विवाह गरेर घर गृहस्थी गर्थे । राजालाई जुन केटी मन प¥यो, उसैसँग विवाह गरिहाल्थे । राजालाई मनोरञ्जन दिलाउन समेत महिलाहरुको प्रयोग भएको इतिहासमा उल्लेख छ । विशेष गरी नृत्यबाट राजालाई मनोरञ्जन दिने गरिन्थ्यो । रानीको सुन्दरता देखेर राजा मख्ख हुने गर्थे । आफूलाई रानी नराम्री लाग्न थालेपछि परिवर्तन गरिहाल्थे । यसरी परापूर्वक कालबाट सुरु भएको महिला सुन्दरताको विषयले आधुनिक युगमा झनै व्यापकता पाउन थालेको हो । अचेल मिस नेपालका संस्करणले पनि पुरानै राजाहरुकै प्रबृत्ति पुनराबृत्ति गरे झैँ भान हुँदो रहेछ ।
त्यसो त महिलाहरु पनि आफूलाई रचानात्मक रुपमा भन्दा पनि सुन्दरताका आधारमा आफूलाई परिचित गर्नु बिडम्वना हो । महिलालाई यदी पुरुषहरुले वस्तुको रुपमा प्रयोग गर्न खोज्छन् भने महिला त्यसप्रति चनाखो हुनै पर्छ । कम्तिमा शिक्षित र सचेत महिलाले यस्ता कुरा चिर्नु पर्छ ।
विश्वमा महिलाहरुले परिवर्तनका लागि थुप्रै आन्दोलन गरेका छन् । खासगरी दोस्रो विश्वयुद्धपछि महिला स्वतन्त्रताका लागि आन्दोलनहरु भए । नेपाल जस्ता मुलुकमा भने महिला सशक्तिकरणको लहर अझै नबढेको महसुश भइरहन्छ ।
नेपालमा पनि भएका केही महिला आन्दोलनले महिलाको पहिरनमा त व्यापक परिवर्तन आयो, तर उनीहरुको व्यवहार र काम गर्ने शैलीमा भने परिवर्तन आउन सकेन । महिला केवल सुन्दरता देखाउने माध्यमका रुपमा प्रयोग भए पनि रचानात्मकतामा भने खासै प्रगति हुन सकेन ।
यसैले पनि महिलाले आफ्नै कार्यशैलीमा नै परिवर्तन ल्याउन धेरै संघर्ष आवस्यक छ । महिला सुन्दरता देखाउने मात्र माध्यम होइनन् । महिला वस्तु होयनन् । महिला गुडिया नभएर चेतनशील मानव हुन् । जसलाई आत्मसम्मान सहितको जीवन आवस्यक छ भन्ने चिन्तन स्थापित गर्न महिला नै अघि सर्नुपर्छ ।
परिवर्तित समयमा पनि महिलाअरु बेल्न र आफ्ना सकारात्मक मान्यता स्थापित गर्न नसक्ने हो भने पुरुषले सधैँभर यसैगरी शोषण गरिरहनेछन् । कठोर प्रश्न के भने, कहिलेसम्म पुरुषसत्ताको यो शासन स्वीकार गरिरहने हो ? कहिलेसम्म गुडिया बनिरहने हो ? कुनै पनि नाममा महिलाको सौन्दर्य बेच्ने काम गरिन्छ भने स्वीकार्य हुँदैन । महिलालाई मिस नेपाल वा कुनै पनि रुपमा प्रचारात्मक सामाग्री बनाइनु नै गलत सोच हो । यसकारण पनि मिस नेपाल, मिस नेवा, मिस मंगोल वा कुनै पनि सौन्दर्य प्रतिष्पर्धालाई अस्वीकार गरौँ ।