दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन बने युट्युबका कीर्तिमानी नायक
तेलुगु फिल्मका सुपरस्टार अल्लु अर्जुनका फिल्महरु बक्स अफिसमा मात्र होइन, टीभी र युट्युबमा समेत सुपरहिट छन्। फिल्म 'सरैनोडु' (२०१६) को हिन्दी डब भर्सनले युट्युबमा गज्जबको हलचल ल्याएको छ।
फिल्म युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको भारतीय फिल्म बनेको छ। यसले अहिलेसम्म १४ करोड ५७ लाखभन्दा बढी भ्युज पाइसकेको छ। यति मात्र होइन, फिल्मले ५० लाख लाइक प्राप्त गरेको छ।
'सरैनोडु' (जसको अर्थ हुन्छ, असल मानिस) को हिन्दी भर्सन २०१७ मे २८ मा युट्युबमा रिलिज गरिएको थियो। यसपछि फिल्म हेर्ने सिलसिला तीव्र रुपमा बढिरह्यो। यसको जानकारी बलिउडका व्यापार विश्लेषक रमेश बालाले दिएका हुन्।
'सरैनोडु' २०१६ अप्रिल २२ मा प्रदर्शनमा आएको थियो। बोयापती श्रीनुले निर्देशन गरेको फिल्ममा अल्लु अर्जुनका साथै राकुल प्रीत सिंह, कैथरीन टेरसा र श्रीकान्तको मुख्य अभिनय छ।
५० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा एक सय २७ करोडको व्यापार गरेको थियो। फिल्ममा अल्लु अर्जुनले सत्यको साथ दिने र गलत कुराको प्रतिरोधमा उत्रिने जुझारु पात्रको भूमिका निर्वाह गरेका छन्।
'सरैनोडु' अल्लुका पिता अल्लु अरविन्दकै लगानीमा निर्माण भएको हो। उनका हजुरबुवा अल्लु रामा लिंगैया फिल्ममा कमेडियन थिए। उनकी फुपूले दक्षिण भारतीयकै सुप्रसिद्ध कलाकार चिरञ्जीवीसँग विवाह गरेकी थिइन्।
'स्टाइलिस स्टार' उपनामले परिचित अल्लु अर्जुनको 'डिजे' पनि युट्युबमा सुपरहिट छ। यसले अहिलेसम्म १२ करोड ४८ लाखभन्दा बढी भ्युज पाएको छ।