अर्थ रोजगार मुख्य समाचार

कोरियान भाषा परीक्षाको आवेदन खुल्यो, पोखरामा 'फस्ट कम फस्ट सर्भिस'

कोरियान भाषा परीक्षाको आवेदन खुल्यो, पोखरामा 'फस्ट कम फस्ट सर्भिस'

काठमाडौं । कोरियामा रोजगारीका लागि जान चाहनेलाई रोजगारी अनुमति प्रणाली (ईपिएस) परीक्षाको आवेदन सुरु भएको छ । कोरियामा रोजगारीमा जान चाहनेले विहीबार ८ गतेदेखि १७ गतेसम्म इपीएस भाषा परीक्षाको आवेदन दिन सक्ने छन् ।

 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले ईपिएसको परीक्षाका लागि आवेदन दिन सक्ने वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । ईपीएस कोरिया शाखाले परीक्षा आवेदन लिने सबै तयारी सकाएको समेत जनाएको छ ।

 

यसपटक कोरिया सरकारले नेपालबाट ७ हजार १ सय जना कामदारको माग गरेको छ । उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ जना कोरियाले कामदार माग गरेको हो ।

 

कोरिया भाषा परीक्षामा एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन सक्ने छन्् । आवेदन दिन व्यक्तिले भाषा परीक्षा उत्तीर्ण गरेपछि सोही क्षेत्रका लागि रोजगारी फारम भर्न पाउने व्यवस्था रहेको ईपीएस शाखाले जनाएको छ ।

 

आवेदकले फारम भर्दा परीक्षा दिन चाहेको केन्द्र राख्नु पर्ने छ । ईपीएस शाखाले कोरिया भाषा परीक्षा काठमाडौं र पोखराबाट दिन पाउने व्यवस्था गरेको छ । तर, पोखरामा भने फस्ट कम फस्ट सर्भिसका आधारमा १२ हजार जनाले मात्र पोखरा केन्द्र छनोट गर्न सक्ने छन् ।

 

ईपीएस शाखाले २४ अमेरिकी डलर परीक्षा शुल्क तोकेको छ । आवेदकले फारम भर्नुभन्दा अघिल्लो दिन राष्ट्र बैंकले तोकेको विनिमय दरका आधारमा आउने नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकका जुनसुकै शाखामा बुझाउन सक्ने छन् ।

 

ईपीएस भाषा परीक्षाको परीक्षा स्थल र समयसम्बन्धी जानकारी जेठ १८ गतेको राष्ट्रिय दैनिकमा प्रकाशित हुनका साथै ईपीएस शाखाको वेवसाइटबाट पनि हेर्न सकिने छ । नतिजा अषाढ १६ गते प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ ।

विशेष