कांग्रेसमा देउवालाई चुनौती दिने को ?
प्रताप अाेली
काठमाडौँ । पार्टीको आगामी रणनीति तय गर्न नेपाली काँग्रेसले शुक्रबारदेखि केन्द्रिय समितिको बैठक ठाकेको छ ।
बैठकमा चुनावी नतिजा, वाम सरकारको काम कारबाही समिक्षा, आगामी रणनीति र पदाधिकारी चयन लगायतका विषयमा समिक्षा गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको आलोचना गर्ने तयारी गरेका छन् । पौडेल र सिटौला समूहले महाधिवेशन बोलाउने वा महासमिति बोलाउने वारेमा दबाब दिने बताइएको छ ।
यसअघि नुवाकोटमा काँग्रेसले कोषाध्यक्ष भेला गर्दा बन्दसत्रमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद देखिएको थियो । संस्थापन पक्षले चुनावी हारको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरेको थियो भने संस्थापन इतर समूहले सभापतिले जिम्मेवारी लिनुपर्ने अडान लिदै आएको छ ।
चुनाव हारेपश्चात कांग्रेसभित्र देउवापक्षलाई निकै दबाब थालिएको छ । तर देउवा पक्ष बलियो भएकाले पौडेल र सिटौंला समुहको प्रभाव खासै परेको देखिदैन ।
देउवाको नेतृत्वले पार्टीलाई नराम्रो दिशातर्फ धकेलेको पौडेल र सिटौला पक्षको विश्लेषण छ ।
पौडेल र सिटौंला पक्ष वेला वेला देउवालाई नेतृत्वबाट हट्न कसरी रोल खेल्ने भन्नेबारे एकै ठाउँ बसेर छलफल गर्दै आएका छन् । यद्यपी देउवाले दुवै इतरका धम्की कमसल बनाउँदै आएका छन् ।
देउवालाई कसले दिन्छ चुनौती ?
गत फागुन २१ गते सम्पन्न नेपाली कांग्रेसको संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई पछ्याउँदै दोब्बर मतले विजयी भए ।
स्वयम कांग्रेस र आम सर्वसाधारण जिल्याउँदै देउवाले संसदीय दलको नेतामा बिजय हासिल गरे । अब देउवा पक्ष भित्रैबाट उनलाई चुनौती आउने सम्भावना कमै छ । देउवाका समूहमा स्वभाविक उत्तराधिकारी विमलेन्द्र निधि मात्र देखिन्छन् । २०३६ सालमा देउवाले उनलाई नेविसंघको नेतृत्व हस्तान्तरण गरेदेखि आजसम्म निधि देउवासँगै छन् ।
दुई वर्षपछि आउने महाधिवेशनमा निधिले देउवालाई चुनौती दिने वा अब ‘तपाईं छोडिदिनुहोस् म लड्छु’ भन्ने सम्भावना कम छ । देउवाइतर खेमामा उनलाई कसले चुनौती दिने टुंगो छैन ।
रामचन्द्र पौडेलको नेतृत्व कमजोर र असान्दर्भिक हुँदै गएपछि, यो खेमामा अब कसको नेतृत्वमा देउवालाई चुनौती दिने भन्ने प्रश्न खडा भएको छ । पौडेलपछि स्वाभाविक रूपमा पार्टी महामन्त्री शशांक कोइरालाको पालो आउनु पर्ने हो । शशांकको भूमिका र क्षमताका कारण उनीमाथि प्रश्न उठेको छ ।
यसपालि संसदीय दलको चुनावमा शशांकले प्रकाशमान सिंहलाई नसघाएपछि उनी स्वंय के चाहन्छन् भन्ने प्रश्न उठेको कांग्रेसका एक नेताले बताए । ‘देउवासँगै मिलेर जाने, पछि उनले आफूलाई नेतृत्व छोडिदिन्छन् भन्ने विश्वास शंशाकमा कता–कता देखिन्छ,’ उनले भने, ‘त्यसैले देउवासँग भिड्ने वा उनलाई फकाउने निर्णय शशांकले गर्न सकेका छैनन् ।’
संसदीय दलको चुनावमा शंशाकको भूमिकापछि उनको नेतृत्व किन स्वीकार्ने भन्नेमा सिंह लगायत धेरैले प्रश्न उठाएका छन् । त्यसमाथि पनि शशांकको नेतृत्व क्षमतामाथि धेरै अघिदेखि नै कांग्रेसमा प्रश्न उठ्ने गरेको हो।
‘उहाँमा संगठन निर्माण र विपक्षी मोर्चामा डट्ने आवश्यक उर्जा देखिन्न’ एक नेताले भने, ‘न त राजनीतिक सुझबुझ नै देखिन्छ।’ देउवालाई अब कसको नेतृत्वमा चुनौती दिने भन्ने छलफल उनीइतर खेमामा अहिले सुरू भएको छ।
रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला तथा युवा नेताहरू गगन थापा र प्रदीप पौडेलहरूबीच यस विषयमा धेरै पटक छलफल भएको एक नेताले बताए।
यीमध्ये केही नेतामा नेतृत्वको आकांक्षा छ तर खुलेर भन्न सकेका छैनन्। सिटौला के चाहन्छन् भन्ने अझै प्रष्ट छैन। देउवाइतर खेमा उनको नेतृत्वमा गोलवद्ध हुने सम्भावना छैन। त्यसैले उनीसामू देउवासँग जाने वा उनीविरुद्दको मोर्चा बलियो बनाउन लाग्ने भन्ने प्रश्न छ। पछिल्ला महिनामा उनी देशभरि घुमेर कार्यकर्तासँग कुरा गरिरहेका छन्।
संसदीय दलमा देउवालाई टक्कर दिएकाले उनीइतर खेमाको नेतृत्व आफूमा आउनु पर्छ भन्ने चाहना प्रकाशमान सिंहको छ । आउने महाधिवेशनमा कांग्रेससामू पार्टी नेतृत्वको मात्र प्रश्न हुनेछैन, त्यसपछि आउने आम निर्वाचनमा कसको नेतृत्वमा कांग्रेसले एकीकृत कम्युनिष्ट पार्टीलाई चुनौती दिन सक्छ भन्ने प्रश्न झनै अहम् हुनेछ ।
‘पाँच वर्षपछि हुने संसदीय निर्वाचनमा देउवा र गच्छदारको जोडीले कांग्रेसलाई पार लगाउन सक्ने छैन,’ एक नेताले भने ‘त्यसैले पार्टीभित्र पनि हामीले देउवा–गच्छदारको विकल्पमा नयाँ अनुहार अघि बढाउनु पर्छ, जसले आम निर्वाचमा पार्टीको नेतृत्व गर्न सकोस् ।’
नेतृत्व सम्हालने कोइराला परिवारकाे सपना यसकारण असम्भव
कांग्रेसको अग्रपंक्तिमा रहेका तर सत्तामा बसेर पुराना नभएका दुई नेता शशांक र शेखर कोइराला नै हुन् । कोइराला परिवारका उत्तराधिकारी यी दुई दाजुभाइबीचको समिकरण अझै खुल्ल बाँकी नै छ ।
गत महाधिवेशनमा शेखरले भाइ शशांकलाई ‘तिमी छोड, म महामन्त्री लड्छु’ भनेका थिए । त्यसको एक दि पछि शशांकले आफू धेरैअघि बढिसकेकाले छोड्न नसक्ने जानकारी दिए । शशांकको कुरा सुनेर शेखर नै पछि हटे ।
आउने महाधिवेशनमा शेखर कांग्रेसको सभापतिमा दाबी गर्ने मुडमा छन्। उनले छलफलहरूमा ‘तपाईंहरूले साथ दिने हो भने म अघि बढ्न तयार छु’ भन्ने गरेका छन्।
देउवाविरूद्ध आउने महाधिवेशनमा लड्न तयार रहेको जनाउ दिने नेतामा अहिलेसम्म शेखर मात्र देखिएका छन्। अरू नेताले मुख खोलेका छैनन् । उनलाई समर्थन पनि दिएका छैनन्, उनको विरोध पनि गरेका छैनन् ।
सुशील कोइरालापछि कोइराला परिवारबाट कांग्रेसमा कोइराला विरासतलाई त्यति प्रभावशाली प्राधिकारी मान्न सकिदैन । अहिलेका कोइराला परिवार सुशीलपछि कांग्रेसको तेस्रो बरियतामा छन् । शेखरलाई उत्तराधिकारीका रुपमा बढाउन गरिएपनि सुशील कोइरालासम्म आइपुग्दा शशांक सबैभन्दा बढी रोजाइको उत्तराधिकारी बनाउने कोइराला परिवारको तयारी देखिन्छ ।
कतिपय युवा नेताहरूमा शेखरलाई अघि बढाएर युवा तथा पाका नेताहरूको टिम बनाउने सोच पनि देखिन्छ । तर शशांकका बारेमा के गर्ने ? उनले के गर्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ ।
अब कांग्रेसकाे भविष्य के ?
आजको सुपठित र चेतनशील मतदाताले सहभागिता खोजिरहेको छ, आफ्नो मतको सम्बोधन चाहिरहेको छ। उसले शासनमा हस्तक्षेप गर्न खोजिरहेको छ। उसले 'सहभागितामूलक लोकतन्त्र (participatory democracy) खोजेको छ। जनताको यही उत्कण्ठालाई भजाउन, एकथरि शक्ति, 'विवेकशील साझा'को नाममा लागिपरेको हो। तर त्यो सिद्धान्तविहीन सङ्गठनतर्फ कांग्रेसको ध्यान आकृष्ट नहुनाने यति मत ल्याउन सफल भएको हो।
पुरानो ढर्रामा दीक्षित नेपाली कांग्रेसकै कतिपय नेताले आजको युगको यो मर्म बुझ्न सकेका छैनन्। तर, कांग्रेसभित्रै धेरै अशालाग्दा युवा आवाजहरु मुखरित रुपमा सुनिन थालेका छन्। ती आवाजहरुको प्रभाव बढ्दो छ र तिनलाई दबाउने प्रयास पनि सक्रिय छ। तर, त्यसलाई अंगीकार नगरी, युवालाई अगाडि बढ्ने मार्गप्रशस्त नगरी कांग्रेसको पुनरुत्थान मुश्किल छ।
यो प्रचारको युग हो। कांग्रेसले सही ढङ्गले न आफूले गरेका कामहरुको प्रचार गर्न सक्यो, न त आफूमाथि भएका दुष्प्रचारको सही ढङ्गले प्रतिवाद नै गर्न सक्यो। न त आफूले राखेका तर्कको नै अर्थपूर्ण सार प्रस्तुत गर्न सक्यो।
गगन थापाले भने झै, पछिल्ला चार वर्षमा कांग्रेसले जे जति काम गर्यो त्यसका आधारमा त ऊ विजयी भावले जनतामाझ जान सक्नुपर्थ्यो। कष्टकर प्रसव वेदनाबीच कांग्रेसकै नेतृत्वमा लोकतान्त्रिक संविधान जारी भयो। संविधानलाई अस्वीकार गरेर आन्दोलनमा होमिएकाहरुलाई कांग्रेसकै नेतृत्वमा निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण गर्यो।
संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव मूलतः कांग्रेसकै अग्रसरता र नेतृत्वमा सम्पन्न भयो। यी आफैमा चानचुने उपलब्धि थिएनन्। तर, जनतालाई यो राम्ररी बुझाउने कुरामा कांग्रेस चुक्यो। २०४७ को नेपाल र आजको नेपालमा आकाश जमिनको अन्तर छ।
कति उद्योग खुले, कति सडक बने, कति अस्पताल बने, कति स्कुल, कलेज, विश्वविद्यालयहरु खुले, कांग्रेसकै नेतृत्वमा भएका आर्थिक उदारीकरणका कारणले नेपालको अर्थतन्त्रमा पर्न गएको सकारात्मक प्रभाव लगायतका अन्य थुप्रै कुराहरु जुन रुपमा राख्नु पर्ने थियो, कांग्रेसले त्यो सकेन।
यो जनमतको संरक्षण गर्ने, कांग्रेससँग रिसाएकाहरुलाई फर्काउने र स्वतन्त्र मतदाताहरुलाई आकर्षित गर्ने ताकत कांग्रेससँग अझैं छ। तर, यसका लागि नीतिगत, संगठनात्मक एवं संरचनात्मक परिवर्तन आवश्यक देखिन्छ ।
पहिलो पुस्ताले विश्राम लिनसके कम्तीमा दोस्रो पुस्ताको प्रमुख नेतृत्व् र युवा पुस्ताको सहायक नेतृत्व स्थापित हुनसके आगामी पाँच वर्ष कांग्रेस जनाधार बढाउनतिर लाग्नेछ । सरकार ढाल्ने र फेरि सत्तामा पुग्ने नीचसोच कांग्रेसमा पलायाे भने याे भन्दा हालत खराब हुने संकेत देखापरेकाे छ ।