स्वास्थ्य

क्षयाेराेग दिवस दिवसमै सीमित, अाधा क्षयराेगी उपचार बाहिर

क्षयाेराेग दिवस दिवसमै सीमित, अाधा क्षयराेगी उपचार बाहिर

काठमाडाैं । आज मार्च २४ का दिन विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ ।

याे वर्ष ‘आजको आवश्यकताः क्षयरोगमुक्त विश्वका लागि नेतृत्व’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगी छन् । जसमध्ये ३१ हजार ७ सय ६४ जना उपचाररत छन् ।

नेपालमा बर्सेनि ४५ हजार नयाँ क्षयरोगी थपिने र उनीहरुमध्ये १३ हजार उपचारको दायरामा नआउने गरेको केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले जानकारी दिए ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्भेको काम पनि भइरहेको छ ।

५५ जिल्लाका ५७ हजार घरमा पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा गरिने सर्भेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने निर्देशक डा. केसीले जनाए ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगबारे जनचेतना फैलाउने र यसविरुद्ध एकजुट हुने उद्देश्यका साथ याे दिवस मनाइन्छ ।

सन् १८८२ मा डा. रोबर्ट कोचले टीबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा याे दिवस मनाउन थालिएको हो ।

टीबीविरुद्धको अभियानमा महत्वपूर्ण सफलता मिले पनि विश्वमा हरेक दिन यसकै कारण अझै पनि ४ हजार पाँच सयभन्दा बढीको ज्यान जाने गरेको डब्लुएचओको तथ्यांकमा छ ।

टीबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।

विशेष