पाेखरा लेकसाईडमा अब सवारी साधानलार्इ नाे इन्ट्री
पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाईडमा बढ्दो कोलाहल र सवारी आवागमनको चाप वृद्धिसँगै अस्तव्यस्त बन्दै गएपछि ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ । लेकसाइडमा सवारी चाप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन शुक्रवार र शनिवार सवारी प्रवेशमा रोक लगाईएको हो ।
सरोकारवाला, सर्वदलीय तथा सर्वपक्षीय भेलाले तत्कालका लागि शुक्रवार र शनिवार लेकसाइडलाई ‘नो भेहिकल जोन’ बनाउने निर्णय गरेपछि पोखरा लेखनाथ महानगरपालिका–६ ले शुक्रवार एक कार्यक्रमको आयोजना गरी ‘नो भेहिकल जोन’ घोषणा गरेको हो । अब हप्ताको २ दिन साँझ ५ बजेदेखि लेकसाइडमा सवारी गुडाउन पाइने छैन ।
कार्यक्रममा महागनरका मेयर मानबहादुर जिसीले घोषणा गर्नु ठूलो कुरा नभएको बताउँदै यसको निरन्तरता प्रमुख भएको बताए । ‘यहाँ आउने पर्यटकलाई सवारी साधन कहाँ राख्ने भन्ने समस्या नहोस् र यहाँ आएपछि घुम्ने, रमाइलो गर्ने वातावरण सृजना होस् भनेरै ‘नो भेहिकल जोन’ घोषणा गरिएको हो’ उनले भने ।
मेयर जिसीले लेकसाईडमा रहेका खाली जग्गामा पार्किङको व्यवस्था गर्न समेत अनुरोध गरे । उनले फेवाताल संरक्षणका लागि ढल व्यवस्थापनको तयारी भैरहेको समेत बताए । त्यसैगरी प्रदेश सभा सांसद राजिव पहारीले लेकसाईड आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शान्त वातावरणमा मनोरञ्जन लिने वातावरण बनाउन व्यवसायी लाग्नु पर्ने बताए ।
‘नो भेहिकल जोन’ घोषणासँगै यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे । ‘उद्देस्य अनुरुप पर्यटकले प्रत्याभूति गर्ने गरी कार्यान्वयनमा ल्याउनोस्’ उनले भने ।
लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर दुरीमा हप्ताको २ दिन शुक्रवार र शनिवार साझँ ५ बजे देखि सवारी प्रवेश रोक लगाइने पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत पहारीले बताए ।
‘पहिलो चरणमा बेलुकी पाँच बजेपछि दुईदिन नै ‘नो भेहिकल जोन’ बनाउने हो’ अध्यक्ष पहारीले भने, ‘नो भेहिकल जोन बनाएको दिन राती अबेरसम्म पनि सवारी चलाउन पाइने छैन ।’
सवारी आउजाउ रोकिएपछि स्थानीय व्यवसायीले सडकमै मनोरञ्जनात्मक र सचेतनामुलक कार्यक्रम गर्न पाउने उनले बताए । ‘सडकमा सारंगी, मादल बजाउन, भजन, वृत्तचित्र देखाउनेलगायतका कार्यक्रम व्यवसायीले गर्न सक्ने पहारीले बताए ।
५ वर्ष पहिले पनि पोखराको लेकसाइडलाई ७ महिना सम्म शुत्रबार नो भेहिकल जोन घोषणा गरिएको थियो । तर पार्किङ लगायत व्यवस्थापकिय कठिनाईका कारणले निरन्तरता पाउने सकेको थिएन ।