समाज

अाफ्नाे घर अाफैंले भत्काएर सडक निर्माणमा सहयाेग

अाफ्नाे घर अाफैंले भत्काएर सडक निर्माणमा सहयाेग

स्थानीयले आफ्नो घर आफैँले भत्काएर मेची राजमार्ग विस्तारमा सहयोग पुर्‍याएका छन् । जिल्लाको सूर्योदय नगरपालिकामा रहेको कन्याम र हर्कटेमा पर्ने ८ वटा घर स्थानीय आफैँले भत्काएर राजमार्ग विस्तारमा सहयोग पुर्‍याएका संघर्ष समितिका संयोजक शिवकुमार राईले बताए । याे खबर इलामकाे हाे ।

 

यी ८  घरमध्ये हर्कटेकी सीता गुरुङ्काे भने एउटै मात्र घर छ । त्यो पनि भत्काउनुपर्ने भएकाले उनी पूर्ण रुपमा विस्थापित हुने देखिएको छिन् । श्रीमानको मृत्यु भएपछि साना–साना नानीसँग बस्दै अाएकी गुरुङ्को घरलाई के गर्ने भन्ने अन्यौलता थपिएको छ । 

 

गुरुङ्गको घरलाई भने नगरपालिकाको बैठक बसी थप सल्लाह गरेर निणर्य गरिने नगरपालिका प्रमुख रणबहादुर राइले बताए । 


 
२०७१ साल भदौमा गरिएको सर्वेक्षणअनुसार झापा–इलामको सिमाना जोरकलशदेखि माइखोलासम्म १५ मिटर कायम गर्दा आठ सयभन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको थियो  ।

 

१५ मिटर सडक विस्तार गर्दा भने, घरपरिवार विस्थापित हुने साथै पर्यटकीय क्षेत्र कन्यामको आधा जमिन नै सडकले लिने भएको थियो । यसरी खतरा बढेर जाने देखिएकाले १५ मिटरको साटो साढे सात मिटर मात्र विस्तार गर्ने सहमतिमा सबै मञ्जुर भएको नगरपालिकाले जानकारी दिएको छ ।


 
सहमतिपछि नगरपालिकाले शुक्रबारबाट नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्गको क्षेत्र दुवैतर्फ साढे सात मिटर कायम गरी सडक विस्तारको काम सुरु गरेको छ ।

 

नगरपालिका प्रमुख राईसमेत सक्रिय भएर लागेका छन् । अहिले ८ वटा स्काभेटर भाडामा लिएर नगरपालिकाले काम गरिरहेको छ । एक हप्ताभित्र सडक विस्तारको काम सम्पन्न गरिसक्ने प्रमुख राईले जानकारी दिए ।

 

सडक विस्तार र व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/०७५ मा ५० लाख बजेट विनियोजन गरेको छ । 

विशेष