अब नेपालमा पनि उत्कृष्ट खेलाडीलार्इ सुनकाे जुत्ता
चैत १७ गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल) का माेस्ट भ्यालुएबल प्लेयर्सले सुनको जुत्ता पाउने भएका छन् ।
लोकप्रिय नेपाली ब्रान्डको जुत्ता गोल्डस्टारको उत्पादक किरण सुज र डीपीएलबीच आाइतबार एक कार्यक्रमका बीच १६ लाख रुपैयाँ बराबरको सम्झौता भएको छ । सम्झौताअनुसार किरण सुजले ९ लाख रुपैयाँ नगद तथा ७ लाख बराबरको अन्य सामग्री उपलब्ध गराउने भएको हो ।
यही सम्झौताअनुसार डीपीएलका सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने भएका हुन् । देशमै पहिलोपल्ट मोस्ट भ्यालुएबल प्लेयर्सलाई डीपीएलले सुनको जुत्ता प्रदान गर्न लागेको हो । जुत्ताको बाहिरी भागमा पूरै सुन हुने र भित्री भाग चाँदीको हुने आयोजकले जनाएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि दिँइदै आइएको म्यान अफ् द सिरिज पुरस्कार भने यथावत् रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । म्यान अफ् द सिरिजलाई मोटरसाइकल प्रदान गरिनेछ ।