अन्तत : बन्ने भाे अर्घाखाँचीमा विमानस्थल
अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको २१ महिनापछि बल्ल विमानस्थल बन्ने क्षेत्रमा रुख कटान सुरु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको २०७३ साल असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गरेका छन्।
शिलान्यास भएको २१ महिनापछि शनिबार रातिबाट मात्र रुख कटान सुरु गरिएको छ । एउटा सल्लाको रुख काटेर पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रुख कटान सुरु गर्नुभएको हो ।
पूर्व उपप्रधानमन्त्री रायमाझीले अबको तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए । वनमा रुख कटानको प्रक्रिया नमिलेका कारण निर्माणको काम अगाडि बढ्न नसकेको उनले बताए ।
विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीबासी विमानस्थल नबन्ने त हैन भनेर चिन्ता गर्न सुरु गरिसकेका थिए । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ भन्नेमा स्थानीय तथा जिल्लाबासीहरुले आशा गर्न थालेका छन् ।
अहिले अर्घाखाँचीका नागरिक सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गरिरहेका छन् ।