मनोरञ्जन चलिरहेको फ्लिम

दर्शककाे साथ पाएपछि 'शत्रु गते' टिम हर्षित

दर्शककाे साथ पाएपछि 'शत्रु गते' टिम हर्षित

काठमाडौं । प्रदर्शनरत फिल्म 'शत्रु गते'ले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको व्‍यापार शनिबार आक्रामक देखिएको छ।


शुक्रबार फिल्म हेरेका दर्शकमार्फत फैलिएको ’वर्ड अफ माउथ’ का कारण शनिबार फिल्मलाई दर्शकको साथ मिलेको निर्माण टिमले बताएको छ। शनिबार राजधानीका अधिकांश मल्टिप्लेक्स हाउसफुल भए भने सि‌ंगल थिएटरमा पनि दर्शकको उत्तिकै साथ मिलिरहेको छ।

 

राजधानीको क्युएफएक्स, बिग मुभिज, बिएसआर मुभिजलगायतका हलमा फिल्मले हाउसफुलको व्यापार गर्‍यो। त्यस्तै, गोपीकृष्णमा ६ हल, अष्‍टनारायणको ३ हल, गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो। मोफसलमा पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ। फिल्म हेर्ने दर्शकले फिल्मलाई रुचाएको निर्माण टिमले जनाएका छन्।

फिल्मको कथावस्तु, कमेडीलाई दर्शकले रुचाएका छन्। फिल्म हेरिसकेका अधिकांश दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन्। निर्माण युनिटले राजधानीको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया पनि लिन भ्याए। प्रतिक्रिया शतप्रतिशत पोजेटिभ पाएको कलाकार हरिवंश आचार्यले बताए।

 

उनले भने, 'हलमा हाउसफुल मात्र हुनु सफलता हैन। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छु त्योचाहिँ सफलता हो।' त्यस्तै, निर्देशक प्रदीप भट्टराई दर्शक र फिल्मकर्मीबाट पाएको प्रतिक्रियाबाट आफू निकै खुसी भएको बताउँछन्। भन्छन्, 'सबै तिराबट वाही वाही पाएको छु।

 

हाम्रो एउटै उद्देश्य हो मनोरञ्‍जन दिने, जसमा हामी सफल भएका छौँ। फिल्मप्रति दर्शकले देखाउनुभएको मायाको म सदा आभारी छु।' फिल्मको व्यापारिक रिपोर्ट भने बाहिरिएको छैन। प्रस्तुतकर्ता किरण केसीले पत्रकार सम्मेलनमार्फत फिल्मको व्यापरिक रिपोर्ट सार्वजनिक गरिने बताएका छन्।

 

नेपाली सिनेमा हरिवंश अाचार्य मदकृष्ण श्रेष्ठ

विशेष