विचार

बहस: गार्इ काट्ने कि संरक्षण गर्ने ?

केदारनाथ नेपाल (निश्चल)  

बहस: गार्इ काट्ने कि संरक्षण गर्ने ?

२०६२/६३ सालको जनआन्दोलन सँगै देश नयाँ युगमा प्रवेश गर्यो । संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता विषयहरु संविधानमा सूचिकृत हुदाँ देश साँच्चै नयाँ युगमा प्रवेश गरेको अनुभव सबै जनताहरुले गरेका थिए ।

 

२०५२ सालबाट माओबादीले आफ्नो आधारईलाका रोल्पाबाट सुरु गरेको जनयुद्वलाई भारतको दिल्लीमा लगेर टुङ्ग्याईयो । एक प्रकारले भन्ने हो भने छिमेकीलाई अभिभावक मानेर उनीहरुकै संरक्षणमा गरिएको सहमतिले देशमा विदेशी हस्तक्षेप आमन्त्रण गरेको भान हुन्थ्यो ।

 

सात राजनितिक दलले माओबादीलाई विश्वास नगर्ने र माओबादीले उनीहरुलाई विश्वास नगरेको कारण तत्कालीन समयमा जनयुद्वलाई भारतको अभिभाकत्वमा दिल्लीमा लगेर टुङ्ग्याईएको हो ।

 

हाम्रा नेताहरुको अदुरदर्शिताकै कारण २०६२ /६३ सालको जनआन्दोलनले कतिपय सकारात्मक बाहेक नकारात्मक परिवर्तन ल्यायो । यसो भनिरहँदा नयाँ संविधानमा सुचिकृत भएका परिवर्तनहरु संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लयायतका प्रगतिशिल मुद्वाहरुको विरोध गर्न खोजिएको होईन ।

 

मुद्दाहरु ठीक छन् तर दुरदृष्टि राखेर विष्लेषण नगरेको कारण तिनै परिवर्तनले देशमा द्वन्द्व निम्त्याउने खतरा पनि उत्तिकै रहेको छ । त्यसैको पहिलो चरण हो राष्ट्रिय जनावर गाईको मासु खान पाउने कि नपाउने भन्ने ? र त्यहि विषयबाट हिन्दु र गैरहिन्दूहरुलाई विभाजीत गरी देशमा द्वन्द्व निम्त्याएर राज गर्न खोजिएको छ ।

 

बाह्य शक्तिको दबाबमा देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाईयो । धर्म निरपेक्ष बनाएपस्चात् हिन्दुहरुले पुज्ने र गैरहिन्दुहरुको आहार गाईलाई नै राष्ट्रिय जनावर बनाईनु राजनीतिक नेतृत्वहरुको भूल थियो ।

 

कुनै धर्माअबलम्बी हरुले शुङ्गुरलाई पुजा गर्छन् । कसैले त्यहि सुङ्गुरको मासु खान्छन् । धर्ममा सबैको आफ्नै आस्था छ । भोलि आफ्नो मात्रै धर्म ठुलो भनेर देशमा अरुलाई निषेध गर्ने प्रबृति मौलायो भने देशमा धार्मिक द्वन्दमा फस्नसक्छ यदि धर्मकै कारण भयो भने त्यसको जिम्मा कसले लिन्छ ?

 

मासु खानेहरुलाई यो खा त्यो नखा भन्नु नै गल्ती हुन्छ । कसैले सदियौंदेखि खाईरहेको मासु खाएकै कारण अब कोही जेल जानू नपरोस् । कि देशमा मासु नै प्रतिबन्ध गरौं । त्यसो गर्दा पनि अर्थतन्त्रमा असर पर्छ र यो सम्भव पनि देखिंदैन । देशलाई धर्मनिरपेक्ष बनाईरहँदा राष्ट्रिय झण्डा बदल्न खोज्नेहरुले राष्ट्रिय जनावर बदल्न किन सकेनन् त्यता पनि सोचौ ।

 

यहाँ विदेशीको ईसारा र दबाबमै देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र स्वरुप देशलाई धर्मनिरपेक्ष बनाईयो तर राष्ट्रिय जनावर बदलिएन वा आजको स्थिति आउँछ भन्नेमा हाम्रा नेताहरुको दुरदृष्टि पुगेन ।

 

भर्खरै सम्पन्न निर्वाचन र त्यसैको आधारमा बनेको सरकार पश्चात् देश राजनीतिक स्थिरतामा अघि बढ्न खोजेको आभाष हुँदै थियो । आर्थिक समृद्धिको बाटोमा देश अघि बढ्दै थियो । आर्थिक समृद्धिको खाकाहरु कोरिदै थिए ठिक यसै समयमा विदेशी शक्तिहरुको ईशारामा गाईको मासु खाने कि नखाने भन्ने विषयलाई लिएर देशलाई धार्मिक द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछ ।

 

जनताको कठोर त्याग र बलिदानीबाट हाम्रा नेताहरुले परिवर्तन त ल्याए तर परिवर्तनले निम्त्याउने दुरगामी असर पहिलै बुझेनन् । त्यसैको कारण देशमा धार्मिक द्वन्द्व निम्तिने खतरा हुँदैछ ।

 

हिन्दु धर्म मान्नेहरुले गाईलाई माता मानेर पुजा गर्छन् । गाई "बध" हिन्दूहरुको लागि सबैभन्दा ठुलो अपराध हो । त्यतिमात्र होइन हिन्दुहरुलाई जन्मेदेखि मरुन्जेलसम्म गाईको आवस्यकता पर्छ । पुजा आजा गर्दा गाईकै दूध चढाउने चलन छ ।

 

मलामी गएर आएपश्चात् गाईको गहुँत पिएर चोखो हुने परम्परा पनि हिन्दूहरुमा छ । तर, हिन्दु भएकै कारण सबैले गाईलाई पुजेकैछ न् भन्न मिल्दैन । दुहुनो हुन्जेल दूध खाने अनि दूध दिन छाडेपछि राति सडकमा लगेर छाड्ने हिन्दूहरु यहि छन् । पाप गर्न काट्नै पर्छ भन्ने छैन । दूध दिन छाडेको गाईलाई जंगल र बाटोमा छाड्नेहरु पनि पापी र अपराधी नै हुन् ।

 

पश्चिमाहरुको ईशारामा कसैले देशलाई धार्मिक द्वन्द्वमा फसाउँदैछ । उनीहरु चाहन्छन् आफ्नै दबाबमा धर्मनिरपेक्ष बनेको मुलुकमा नेपाली-नेपालीबीच विवाद होस् काटमार चलोस् र कुनै एक जातिको नभई सबै जातिको रगत एकमुष्टमा खाएर नेपालमा राज गर्न पाईयोस् ।

 

हत्या त कुनैपनि पशुको गर्नु हुँदैन किनकी उनीहरुको पनि आत्मा हुन्छ । कसैको आत्मा मारेको जति पाप अरु केहि हुँदैन । कुनैपनि धर्मले भन्दैन कसैको ज्यान मारेर खाऊँ र आनन्द लिउँ ।

 

राष्ट्रिय जनावर गाईलाई काट्ने कि संरक्षण गर्ने वा राष्ट्रिय जनावर नै बदल्ले अहिले यसमा पनि सामाजिक सञ्जाल देखि लिएर मिडियामा समेत यस विषयमा बहस भैरहेको देखिन्छ ।

 

वास्तवमा भन्ने हो भने जनमत संङ्ग्रह नै गर्दापनि देशलाई हिन्दुराष्ट्रमा फर्काउन सकिन्छ । बहुसंङ्ख्यक जनता हिन्दू रहेको देशलाई धर्मनिरपेक्ष बनाईनु नै गलत थियो । त्यसमा पनि दूरदृष्टि राखेर राष्ट्रीय जनावर एकसिङ्गे गैंडा बनाएको भए अहिले विरोधको स्थिति आउँदैन थियो ।

 

पर्याप्त ज्ञान र दुरदृष्टिका साथ विष्लेषण नगरी ल्याईएको संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लयायतका मुद्वाहरुले अन्ततः देशलाई दुर्घटनामा नपुर्याउला भन्न सकिन्नँ । राष्ट्रिय जनावर गाईको बिबाद त्यसैको पहिलो खुड्किलो हो ।

 

यस्तो समयमा कसैले संयमता नगुमाऔं धर्मको बारेमा बिबाद नगरौं सबै धर्म उत्तिकै राम्रा छन् । सदियौं देखि मिलेर बसेका हामी नेपाली मिलेरै बसौं । बहस कुन पशुपंक्षी काट्ने कुन नकाट्ने भन्ने होईन, हत्या हिंसाले कसैलाई आनन्द मिल्दैन । बरु एउटा बहस चलाऔ कुन पशुपंक्षीलाई कसरी शंरक्षण गर्ने भन्नेमा ।

विशेष