नर्दन आयरल्यान्डसँग दक्षिण काेरिया स्तब्ध
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नर्दन आयरल्यान्डले एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ।
घरेलु मैदान विन्डसर पार्कमा भएको खेलमा आयरल्यान्डको जितमा पौल स्मिथ नायक बने। क्विन्स र्पा रेन्जर्सका फरवार्ड स्मिथले खेल सकिन ४ मिनेट बाँकि रहँदा गरेको गोल नै निर्णायक बनेको थियो। राष्ट्रिय टोलीबाट उनको यो करियरकै पहिलो अन्तर्राष्ट्रिय गोल हो।
यसअघि खेल सुरु भएको मात्र ७ मिनेटमै पाहुना टिम दक्षिण कोरियाले अग्रता लिएको थियो। उसका लागि क्ओन चाङ हुनले गोल गरे।
तर खेलको २० मिनेटमा नै दक्षिण कोरियाले एक गोल आयरल्यान्डलाई उपहार दियो। ओलिभर नोर्वुडको फ्रि–किकमा ज्यामी वार्डको क्रस दक्षिण कोरियाका किम मिन जाइले रोक्ने कोशिष गर्दा गोलपोष्टको दिशा लिएको थियो।
खेल अवधिभर राम्रो मुभ बनाए पनि कोरिया जित हात पार्नबाट चुक्यो।
यसैबिच गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलहरुमा पेरुले क्रोयसियालाई २–०, मेक्सिकोले आइसल्यान्डलाई ३–०, क्यानडाले न्युजील्यान्डलाई १–० तथा जर्जियाले लिथुवानियालाई ४–० ले पराजित गरे।
त्यस्तैगरि दक्षिण अफ्रिकाले जाम्बियामाथि २–०, चिलीले स्विडेनमाथि २–१ को जित हात पार्दा रोमानियाले इजरायललाई २–१ ले पाखा लगायो।
त्यस्तै अन्य खेलहरुमा सिरिया र कतार, केन्या र कोमोरोसले समान २–२ गोलको बराबरी खेल्दा कुराकाओले बोलिभियालाई पनि १–१ को बराबरीमा रोकेको छ। अर्मेनिया र इस्टोनियाले गोलरहित बराबरी खेलेको छ।