समाज सफलताको कथा

व्यक्तिगतभन्दा सामूहिक अालुखेतीले उक्सिए कृषक

व्यक्तिगतभन्दा सामूहिक अालुखेतीले उक्सिए कृषक

गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।



जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आबद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । याे खबर स्याङ्जाकाे हाे ।



“स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिक रुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हौँ”, जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले भने । 

 

व्यक्तिगतभन्दा सामूहिक रुपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उनले बताए । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भए पनि यहाँको माटो चिम्टयाइलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि सिफारिस गरिएको उनले बताए । 



“दश रोपनी जग्गा भाडामा लिएर हामीले आलु लगाएका थियौँ,” अध्यक्ष कँडेलले भने, “आलु खनिसकिएकाले अब खाली रहेको जग्गामध्ये छ रोपनीमा गोलभेँडा र चार रोपनीमा मकैको बीउ उत्पादन गर्ने तयारीमा छौँ ।” 



यही ठाउँमा आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमूहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आएको छ । नमूना नगदे बाली उत्पादन कार्यक्रमअन्तर्गत यहाँका २७४ जना कृषक आबद्ध छन् भने व्यक्ति व्यक्तिको क्रियाशिलतामा करिब सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नमूना नगदे बाली उत्पादन कार्यक्रमका उपाध्यक्ष विष्णु गैह्रेले बताए । 

 



उनका अनुसार नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट मूल बीउ ल्याई त्यस बीउलाई यहाँको हावापानी र माटोअनुसारको गुणस्तरीय उन्नत बीउ बनाइ लगाउने तथा बीउका रुपमा वितरण गर्ने गरिएको छ । 



जिमूहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायत आलुका बीउ उत्पादन गर्ने गरिएको कृषक चतुर्भुज पन्थी बताउनुहुन्छ । यहाँ उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारी घरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको स्थानीयवासी बताउँछन् । 

 



अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै व्यक्तिगत रुपमा रु सात लाख आम्दानी गरेको बताउनुहुन्छ । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको संस्थाले जनाएको छ । 



“बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्न हामीले भैरहवामा रहेको शीत भण्डारमा भण्डारण गर्छौँ” जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणि कँडेलले भने, “शीत भण्डारमा भण्डारणका लागि मात्रै प्रतिकिलो रु पाँच र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो रु १० खर्च लाग्छ ।” 



गएको याममा संस्थाले भैरहवामा रहेको शीत भण्डारमा २०० मेट्रिक टन आलुको बीउ भण्डारण गरेको थियो । आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मुल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ । 



जिमूहामा व्यावसायिक रुपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० मेट्रिक टन आलु सहुलियत दरमा वितरण गरेको थियो । 

विशेष