असोज ३ गते राष्ट्रिय दिवस, दशैं विदा ३ दिन घट्यो, कति दिन सार्वजनिक विदा काटिए
काठमाडौँ । नेपालको राष्ट्रिय दिवस नेशनल डे असोज ३ गते कायम भएको छ । मन्त्रिपरिषदको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिन्थ्यो । तर, जनआन्दोलन २०६२ र ६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले यस वर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिएको थियो । केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको छ ।
जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनु पर्ने प्रस्ताव राखे पनि गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको हो । असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइने छन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइने छ ।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ-आफ्नो हिसाबले मनाइने छन् । तर त्यस दिन सार्वजनिक विदा दिइने छैन । मन्त्रिपरिषदको निर्णयबारे प्रष्ट पार्दै राज्यमन्त्री बास्कोटाले भने, ‘दिवस र पर्वहरु आआफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौति गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।’
दशैं विदा ३ दिन कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिन मात्र हुने छ ।
त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौति गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा कटौती गरिएको छ । सरकारले सार्वजनिक विदा कटौतिमात्र गरेको छैन, समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र विदा दिने निर्णय गरेको छ ।
ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइने छ ।