करारका कर्मचारी भन्दा स्थायी कर्मचारीले नै बढी ठग्छन्ः मन्त्री अर्याल
स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले सरकारी अस्पतालहरूमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै ज्यान जाने अवस्था हटाएर दुई सिफ्ट संञ्चालन गरेर भए पनि समयमै उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । स्वास्थ्य क्षेत्रमा समस्या समाधानका लागि केन्द्रमा छलफल भइरहेको उनले बताइन् ।
उनले भनिन्, ‘सुविधा बढाएर हुन्छ वा नयाँ करारमा ल्याएर कसरी हुन्छ त्यसलाई व्यवस्थित गरिन्छ ।’ लुम्बिनी अञ्चल अस्पतालको अनुगमनकाे शिलशिलामा उनले यस्ताे बताएकी हुन् । अस्पताल अनुगमन गर्दै राज्यमन्त्री अर्यालले संघीय सरकारले ६ वटा अस्पताल लाई केन्द्रीय अस्पतालमा राखेको समेत बताइन्।
लुम्बिनी अञ्चल अस्पताललाई आवश्यक सुधारको पहल गर्ने प्रतिबद्धता समेत उनले जनाइन्। अस्पतालको सुधारका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको भनाइ थियो।
‘मैले सुने अनुसार अधिकांश अस्पताल अव्यवस्थित तरिकाले चलेका छन्, करारमा राखिएका कर्मचारीले भन्दा सरकारी कर्मचारीले नै बढी ठग्ने गरेको पाइन्छ,’ उनले भनिन्, ‘ट्रमा सेन्टरमा कारारमा राखिएका कर्मचारी र वीर अस्पतालका स्थायी कर्मचारीको व्यवस्थापन र सरसफाइले पनि स्पष्ट देखाएको छ।’