काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन
धनगढी । धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई ७ विकेटले पराजित गरेको हो।
टिम चौराहले दिएको १४६ रनको मध्यम लक्ष्य काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो। काठमाडौंका लागि अमित श्रेष्ठले नटआउट सर्वाधिक ८१ रनको योगदान दिए। अमितले ६५ बलको सामना गर्दै ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै नरेश बुढाएरले नटआउट २४ र जयकिशन कोल्सावालाले १६, रन बनाए। टिम चौराहका लागि सम्शेद शेखले २ तथा सुनिल धमलाले १ विकेट लिए। अमित खेलकाे म्यान अफ दि म्याच भए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टिम चौराह धनगढीले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएको थियो। उसका लागि सुनिल धमलाले पहिलो खेलमै अर्धसतक प्रहार गरेका छन्। सुनिलले ५७ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए। त्यस्तै शंकर रानाले ३१ बलमा ३६,पुनित मिश्रले ९ रन बनाए।
काठमाडौंका लागि सहाब आलमले ३ तथा रशिद खान,सन्नी पटेल र शन्नी पटेलले एक–एक विकेट लिए। सुरुवातमा निकै राम्रो खेल खेलेको धनगढीले अन्तयतिर भने लगातार विकेट गुमाएको थियो। काठमाडौंका सहाब आलमले १७ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा लगातार विकेट लिदै ह्याटिक लिन सफल भएका थिए।
टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व गरिरहेका छन्। चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ।