देश

धर्मविरोधी सरकारको कुकर्म सहन्नौं– अध्यक्ष बस्नेत 

धर्मविरोधी सरकारको कुकर्म सहन्नौं– अध्यक्ष बस्नेत 

काठमाडौं । सरकारले हिन्दुहरुको चाडमा दिँदै आएको सार्वजनिक बिदा कटौतिको निर्णय अवज्ञा गर्न शिव सेना नेपालले आह्वान गरेको छ । 

 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत‘बाबा’ले भने, ‘हिन्दुहरुको पर्वमा बिदा काट्ने र सांस्कृतिक साम्राज्यवादीहरुलाई फाइदा पुर्याउने कार्य वर्तमान सरकारले गरेको छ । यो धर्मविरोधी, संस्कृति र मौलिकताविरोधी कुकर्म हो ।’ 

 

सरकारले गरेको कार्यविरुद्ध जनताले अवज्ञा आन्दोलनमार्फत बिदा पुनस्र्थापना गर्न सकिने अध्यक्ष बस्नेतको भनाइ छ । विशेषगरी महाशिवरात्रि, रामनवमी, कृष्णजन्माष्टमीलगायत पर्वमा गरिएको विदा कटौतिमा जनता, राष्ट्रसेवक कर्मचारी सबैले आफ्नो काम बहिष्कार गर्नुपर्ने बस्नेतले बताए ।

 

उनले भने, ‘धर्मसंस्कृति मासेर समृद्धिको सपना देख्ने प्रधानमन्त्रीको आँखाको उपचार आवश्यक छ । जुन राष्ट्रले धर्म संस्कृति गुमाउँछ, त्यहाँ पैशाको ओछ्यानमा सुत्नुको पनि अर्थ हुँदैन । धर्म संस्कृति मासेर संसारमा कसैले पनि विकास गरेको छैन ।’

 
विक्रम सम्वत २०७५ सालभित्र राजसंस्था र हिन्दूराष्ट्र स्थापना गरिसक्ने लक्ष्य लिएको शिव सेनाले धार्मिक पर्वमा दिने गरेको विदा खारेज गर्ने सरकारलाई यस्तो निर्णय फिर्ता लिन चेतावनी दिएको छ । पार्टीका अध्यक्ष बस्नेतले भने, ‘सरकार यो राष्ट्र बनाउने बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ति पनि खारेज गरेको छ । देश बनाउनेलाई नसम्झने हो भने अब के देश टुक्रा पार्छु भन्नेलाई यो सरकारले माला लगाउने खोजेको हो ?’ 


वर्तमान सरकारलाई धर्मविरोधी, संस्कृति र एकताविरोधीको संज्ञा दिँदै अध्यक्ष बस्नेतले आन्दोलनको नयाँ ज्वारभाटले यो व्यवस्था नै समाप्त पारिदिने चेतावनी दिएका छन् ।

 

उनले वर्तमान संसदकै दुई तिहाईले विशेष प्रस्ताव ल्याएर गणतन्त्र खारेजी र धर्मनिरेपक्षता खारेजी गर्न सक्ने बताए । उनले भने, ‘तत्काल नै यो संसदले यी दुई काम गरेमा जनताले माफी दिन्छन् । नत्र यो व्यवस्था नै खारेज हुन सक्छ । व्यवस्था टिकाउने हो भने संविधानमा केही संशोधन गर्दा फरक पर्दैन । 


शिव सेना नेपालका अध्यक्ष बस्नेत केही समयदेखि पूर्वी तराईमा पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणमा क्रियाशील छन् । शिव सेना नेपालले अनौपचारिक रुपमा पूर्वराजाको सुरक्षा प्रबन्ध गरिरहेको छ ।
 

शिव सेना अनिल बस्नेत

विशेष