राेनाल्डाेकाे २ गालेले रियल म्याड्रिडकाे सहज जित
गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा गेटाफेका डिफेन्डरहरुलाई छलाउँदै आफ्नो बलियो प्रहारलाई गोलमा परिणत गरे ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल थप्याे भने गेटाफेले पनि एक गोल फर्कायो । खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सिस्को पोर्टिल्लोले परिणत गर्दै गेटाफेलाई खेलमा फर्किने आशा दिलाएका थिए ।
तर ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियलको २७ खेलमा ५४ अंक रहेको छ ।
अब रियलले मंगलबार राति च्याम्पियन्स लिगमा पीएसजीको सामना गर्ने छ । पीएसजीले पनि गए राति आफ्नो घरेलु लिगमा ट्रोयेसमाथि २-० को जित निकालेको छ ।