मुख्य समाचार

संघीय सांसदको शपथग्रहण आज, शपथ लिन नपाउने ४ सांसद काे-काे हुन् ?

संघीय सांसदको शपथग्रहण आज, शपथ लिन नपाउने ४ सांसद काे-काे हुन् ?

काठमाडौँ । संघीय संसद्का निर्वाचित सदस्यले निर्वाचन भएको तीन महिनापछि अाज शपथ लिँदैछन् । मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने छन् ।

 

सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथग्रहण अाज हुने छैन। यस्तै फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी पनि शपथग्रहणा गर्न नपाउने भएका छन्।

 

जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ । सरकारी कागज किर्ते अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट विजयी एमाले सांसद नवराज सिलवाल शनिबार नै संसद् भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उपस्थित भएका उनलार्इ शपथग्रहण गर्न कुनै राेकाट हुने देखिएकाे छैन् ।

 

लामो समय गुपचुप रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सार्वजनिक रूपमा देखिन थालेका हुन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रिय सभाको ५ बजे आफ्नै सभाकक्षमा शपथ समारोह हुनेछ । दुवै सभामा सांसदको शपथ ज्येष्ठ सदस्यले गराउनेछन् । प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभामा सभाध्यक्षको चयन नभएसम्म तिनै ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेछ ।

 

प्रतिनिधिसभामा राजपा नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ । ७० वर्ष पुग्दै गरेका यादव नागरिकताका आधारमा ८० वर्षका देखिन्छन् । यही आधारमा उनी ज्येष्ठ सदस्य भएका हुन् । यादव र भट्टले अाज दिउँसो १ बजे राष्ट्रपतिबाट शपथ लिने र त्यसपछि मात्रै उनीहरूले अन्य सदस्यलाई शपथ गराउने छन्।

 

४४ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने जानकारी सचिवालयलाई गराएका छन् । सचिवालयले मागेअनुसार उनीहरूले शपथ व्यहोरालाई मातृभाषामा अनुवाद गरी बुझाइसकेका छन्। ती सांसदले फरक–फरक मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ गरी १० मातृभाषामा शपथ लिनेछन् । अन्य सांसदले नेपाली भाषामै शपथ लिनेछन्।

विशेष