समाज

खाद्य संस्थानकाे अनुदानकाे चामल बाटैबाट गायब

खाद्य संस्थानकाे अनुदानकाे चामल बाटैबाट गायब

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् ।

 

संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।

 

चालू आवको कोटास्वरुप आएको ६ सय ९९ क्वीन्टल ८० केजीमध्ये सबैजसो बीचबाटोमै बिक्री भइसकेकाले अहिले डिपो रित्तै छ ।

 

व्यापारीले पचालझरना गाउँपालिकाको जारकोटबाट एक हजारसम्म स्थानीय व्यापारीको मिलेमतोमा खाद्य संस्थानका ठेकेदारहरूले बिक्री गर्ने गरेको स्थानीय पचालझरना गाउँपालिका –२ सिकुका जौन विकले बताए । “जारकोटमा खाद्य संस्थानको डिपो छैन, खाद्य संस्थानले त्यहीबाट दिने गरेर सुनेर म जारकोटमा गएँ,” उनले भने, “१ हजार रुपैयाँ दिएको थिएँ, एक बोरा चामल र दुई प्याकेट चाउचाउ दिए ।”

 

ठेकेदारसँग मिलेमतोमा पचालभरना जारकोटका स्थानीय व्यापारी वसन्त शाहीले जाजरकोट बजारमा चामल बिक्री गर्दै आएका छन् । उनलाई विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले बिक्रीको जिम्मा दिएका हुन् ।

 

संस्थानको कालिकोट शाखाले दुईवटा फर्मलाई चामल ढुवानीका लागि ठेक्का दिएको थियो । विशाल निर्माण सेवा कालिकोटले जिल्लाको सदरमुकाम मान्मदेखि पलाँता गाउँपालिकाको थिर्पु डिपोसम्मको चामल ढुवानी जिम्मा पाएको छ ।

 

यस्तै, सिद्धार्थले सुर्खेतदेखि थिर्पु डिपोसम्म ढुवानी जिम्मा लिएको छ । विशाल निर्माण सेवाका प्रतिनिधि निलो तिरुवाले ६ सय ९९ क्वीन्टल ८० किलोग्राम पहिलो किस्तामा ढुवानी गरेर बिक्री गरिसकेका छन् भने सिद्धार्थका प्रतिनिधि कमल गुरुङले ७ सय ९९ क्वीन्टल ८० किलो चामल ढुवानी गरेर बिक्री गरिसकेका छन् ।

समाचार अाजकाे काराेबार दैनिकमा छापिएकाे छ ।

विशेष