समाज

घुस रकम बाँडफाँटमा कुटाकुट गर्ने कर्मचारीलाई जम्मा एक हजारमा छाडियाे

घुस रकम बाँडफाँटमा कुटाकुट गर्ने कर्मचारीलाई जम्मा एक हजारमा छाडियाे

कैलाली । नापी र मालपोत कार्यालयमा घुस लिएको रकम बाँडफाँटमा कर्मचारीबीच कुटाकुट भएको घटनालाई कार्यालयभित्र मदिरा सेवन गरेको सामान्य घटनाका रुपमा जनही एक हजार रकम जरिवाना गरी आइतबार छोडिएको हो ।

 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घुस प्रकरणमा भने छानविनका लागि जिल्ला प्रशासन कार्यालयले कानुन अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

 

‘कार्यालयमा मदिरा सेवन गरेको हुँदा स्थानीय प्रशासन ऐनअनुसार १ हजार जरिवाना गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा छानविन टोली गठन गरिएको छ ।’

 

समितिले छानविन गरी एक हप्तामा प्रतिवेदन दिनुपर्ने छ । मालपोत र नापी कार्यालयका कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिएको प्रजिअ रिजालले जनाए । ‘मदिरा सेवनबाहेकका अन्य विषयमा सम्बन्धित कार्यालयले विभागीय कारवाहीका लागि पहल गर्न सक्छ,’ उनले भने ।

 

आइतबार जिल्ला प्रशासन कार्यालयले मालपोत र नापी कार्यालयका प्रमुखलाई बोलाएर यस विषयमा जानकारी लिएको थियो । प्रशासनमा हाजिर भएका कार्यालय प्रमुखले कुटाकुट भएको घटनालाई मदिरा सेवन गरेको सामान्य घटना भएको बताएका थिए ।

 

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार घाइते भएका कर्मचारी अत्यधिक मदिरा सेवन गरेका कारण आफैं लडेर घाइते भएको कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

विशेष