सामाजिक कार्यमा सघाउन जिग्री पाँडे जाेडी लागे विदेश
हास्य कलाकार जोडी जिग्री र पाँडे सामाजिक कार्यका लागि आयोजित सांस्कृतिक कार्यक्रममा जाँदै छन्। कतारमा आयोजना हुन लागेको शिक्षा सहयोगार्थ सांगीतिक कार्यक्रममा कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को प्रस्तुति रहने भएको हो।
एफएफएलको दोस्रो वार्षिक उत्सवको अवसरमा मार्च ९ मा हुने कार्यक्रममा अन्य नेपाली कलाकार पनि सहभागी हुनेछन्। कतारको दल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने कार्यक्रमबाट उठेको रकम आर्थिक स्थिति कमजोर भएका नेपाली बालबालिकहरुको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने आयोजकले विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा सहभागिताको बारेमा कलाकार अर्जुन घिमिरे पाँडे भन्छन्, 'कलाकारितामार्फत सामाजिक सन्देश दिँदै आएका थियौं सँगसँगै सामाजिक कार्यमा पनि योगदान पुर्याउनुले खुशी दिन्छ।’
जिग्री र पाँडेले सामाजिक संस्था स्थापना गरेरै विभिन्न सामाजिक कार्य गर्दै आएका छन्। जिग्री पाँडेले प्रतिष्ठानमार्फत सप्तरीका दृष्टिविहीन ३ परिवारका लागि घरसमेत निर्माण गरिदिएका छन्।