स्थनीयवासीकाे ज्यादती : किस्ता लिएर पनि हट्न मानेनन्
प्रमुख जिल्ला अधिकारी भन्छन्– जसरी पनि हटाउँछु
नारायणगढ–मुग्लिन सडकखण्डको पहिराको उच्च जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दाले आयोजनाबाट पहिलो किस्ताको रकम लिएर पनि सार्वजनिक जग्गाबाट हट्न अटेर गरेका छन् ।
एशियाली विकास बैंकको लगानीमा भएका आयोजना क्षेत्रका बासिन्दा हटाउँदा स्थानान्तरण हुन सक्ने गरी रकम दिनुपर्ने प्रावधानका कारण उनीहरुलाई आयोजनाले मूल्याङ्कन गरी पहिलो किस्ताको रकमसमेत भुक्तान गरिसकेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार उनीहरुलाई हट्नका लागि रु एक करोड ६४ लाख दिइने भएको छ जसलाई तीन किस्ता गरेर पहिलो किस्ता भुक्तान गरिसकिएको छ ।
उच्च जोखिममा रहेका ४५ घरपरिवारमध्ये १२ घरपरिवार मात्र हटेको र अन्य कालीखोला र टोपेखोला आसपासका ३३ घरले हट्न अटेर गरेको बताइएको छ । खनालका अनुसार उनीहरुलाई अहिले भएको जस्तै बाहिर घर बनाउन पुग्ने गरी रकम दिइँदै छ ।
यसका अतिरिक्त ढुवानी र घर बनाउने समयका लागि भाडा रु १० हजार, विस्थापन भत्ता रु १० हजार, व्यापार हुनेलाई अर्को स्थानमा व्यवसाय गर्न रु १० हजार तथा आदिवासी, जनजाति र दलित भएमा थप रु १० हजारसमेत दिइने छ ।
सडकछेउका घर छाडेपछि बसेका ठाउँमा जीवनोपयोगी सीप विकास तालिम पनि दिइने खनालले बताउनुभयो । यद्यपि उनीहरुले हट्न अटेर गरेपछि स्थानीय प्रशासनलाई बल प्रयोग गरेर भए पनि ठाउँ खाली गरिदिन आग्रह गरिएको उनले बताए ।
गत असार १३ गते व्यवस्थापिका–संसद्, विकास समितिले सडक अनुगमनका क्रममा पहिराेकाे उच्च जोखिममा रहेका घर तत्काल हटाउन निर्देशन दिएसँगै आयोजनाले प्रक्रिया अघि बढाएको थियो ।
त्यसलगत्तै साउनमा नै पहिलो किस्तावापतको रकम जिल्ला प्रशासन कार्यालयमार्फत दिइएको थियो । प्रजिअ नारायणप्रसाद भट्टले पहिलो किस्ताको रकम लिइसकेकाले उनीहरुलाई अब बस्ने नैतिक आधारसमेत नभएकाले तत्काल हट्नुपर्ने बताए । उनले भने, “उहाँहरु आफैँ हट्नुहुन्छ, नहटे हटाइन्छ ।”
यसअघि आयोजना शुरुआतको चरणमा तीन पटक गरेर सडक मिचेर बसेका ६५ घरपरिवार हटाइएको थियो । उनीहरु हाल बसेका ठाउँमा जीवनोपयोगी सीप विकास तालिम दिने काम भइरहेको खनालले बताए ।